काठमाडौं, भदौ ४ । अमेरिकी औषधि कम्पनी मोडेर्ना र मर्कले विकास गरिरहेको व्यक्तिगत एमआरएनए क्यान्सर खोपले छालाको घातक क्यान्सर मेलानोमा पुनः देखिने तथा शरीरका अन्य भागमा फैलिने जोखिम घटाउन सफल भएको परीक्षणबाट देखिएको छ ।
मोडेर्ना र मर्कले बुधबार सार्वजनिक गरेको पछिल्लो चरणको क्लिनिकल परीक्षणको अन्तरिम नतिजाअनुसार ‘इन्टिस्मेरान’ नाम दिइएको व्यक्तिगत एमआरएनए खोपलाई मर्कको क्यान्सर प्रतिरोधी औषधि ‘किट्रुडा’सँग प्रयोग गर्दा किट्रुडा मात्र प्रयोग गरिएको उपचारको तुलनामा राम्रो परिणाम देखिएको हो ।
कम्पनीहरूका अनुसार व्यक्तिगत एमआरएनए क्यान्सर खोपले पछिल्लो चरणको परीक्षणमा सकारात्मक नतिजा देखाएको यो पहिलो घटना हो । किट्रुडाजस्तो इम्युनोथेरापी औषधिसँग अर्को उपचार थप्दा औषधि एक्लै प्रयोग गर्नुभन्दा राम्रो परिणाम देखिएको पनि यो पहिलो अध्ययन भएको उनीहरूको दाबी छ ।
इन्टिस्मेरान सबै बिरामीका लागि एउटै ढाँचामा तयार गरिने खोप भने होइन । बिरामीको ट्युमरमा देखिएका आनुवंशिक परिवर्तनको विश्लेषण गरी प्रत्येक बिरामीका लागि छुट्टाछुट्टै खोप तयार गरिन्छ ।
ट्युमरमा रहेका विशेष म्युटेसन पहिचान गरेपछि त्यसलाई लक्षित गर्ने एमआरएनए खोप तयार गरिन्छ । खोप दिएपछि शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोषिकामा रहेका असामान्य संरचना पहिचान गर्न सिकाउने र त्यस्ता कोषिकाविरुद्ध आक्रमण गर्न सक्रिय बनाउने उद्देश्य राखिन्छ ।
मोडेर्ना र मर्कको परीक्षणमा शल्यक्रियामार्फत ट्युमर हटाइसकेका तर पुनः क्यान्सर हुने उच्च जोखिममा रहेका १ हजार १३७ जना मेलानोमा बिरामी सहभागी थिए । उनीहरूमा स्टेज २ बी देखि ४ सम्मको मेलानोमा थियो ।
बिरामीलाई दुई समूहमा विभाजन गरिएको थियो । एउटा समूहलाई करिब एक वर्षसम्म किट्रुडा र व्यक्तिगत एमआरएनए खोप दुवै दिइएको थियो भने अर्को समूहलाई किट्रुडा मात्र दिइएको थियो । खोपसहितको उपचार पाउने बिरामीलाई बढीमा नौ डोजसम्म खोप दिइएको थियो ।
अन्तरिम नतिजामा खोप र किट्रुडा दुवै पाएका बिरामीमा क्यान्सर पुनः देखिने जोखिम घटाउने परीक्षणको मुख्य लक्ष्य हासिल भएको कम्पनीहरूले बताएका छन् । त्यस्तै, क्यान्सर शरीरका अन्य भागमा फैलिने जोखिम घटाउने दोस्रो महत्वपूर्ण लक्ष्यसमेत पूरा भएको उनीहरूको भनाइ छ ।
यद्यपि कम्पनीहरूले परीक्षणको विस्तृत तथ्यांक भने सार्वजनिक गरेका छैनन् । आगामी चिकित्सा सम्मेलनमा विस्तृत नतिजा प्रस्तुत गर्ने तयारी गरिएको छ ।
यसअघि जनवरीमा सार्वजनिक गरिएको मध्य चरणको परीक्षणको पाँच वर्षसम्मको नतिजामा किट्रुडा र व्यक्तिगत एमआरएनए खोपको संयोजनले क्यान्सर पुनः देखिने वा बिरामीको मृत्यु हुने जोखिम ४९ प्रतिशतले घटाएको देखिएको थियो ।
मोडेर्नाका अध्यक्ष स्टेफन होगले नियामक निकायबाट स्वीकृति पाएमा उच्च जोखिमयुक्त मेलानोमाको ट्युमर शल्यक्रियामार्फत हटाइसकेका हजारौँ बिरामीले आगामी वर्षदेखि नै यो उपचार पाउन सक्ने बताउनुभएको छ । कम्पनीले नियामक निकायसँग स्वीकृतिका लागि छलफलसमेत सुरु गरेको जनाएको छ ।
तर, यो उपचारलाई क्यान्सरको पूर्ण उपचारका रूपमा भने बुझ्न नहुने विज्ञहरूले बताएका छन् । विस्तृत तथ्यांक सार्वजनिक हुन बाँकी रहेको तथा बिरामीको दीर्घकालीन बाँच्ने दरमा यसको प्रभावबारे थप अध्ययन आवश्यक छ ।
व्यक्तिगत बिरामीको ट्युमर विश्लेषण गरी छुट्टाछुट्टै खोप बनाउनुपर्ने भएकाले ठूलो मात्रामा उत्पादन र उपचारको लागतसमेत चुनौती बन्न सक्ने देखिएको छ । उपचारको मूल्यबारे कम्पनीहरूले अहिलेसम्म निर्णय गरेका छैनन् ।
मोडेर्ना र मर्कले मेलानोमाबाहेक फोक्सो, स्तन र अग्न्याशयलगायत अन्य ठोस ट्युमरका लागि पनि यस्तै व्यक्तिगत एमआरएनए उपचारको परीक्षण गरिरहेका छन् । पछिल्लो सकारात्मक नतिजाले बिरामीको आफ्नै ट्युमरको आनुवंशिक विशेषताका आधारमा तयार गरिने एमआरएनए खोपलाई क्यान्सर उपचारको सम्भावित नयाँ दिशाका रूपमा अघि बढाउने आधार तयार गरेको छ ।














प्रतिक्रिया दिनुहोस्