काठमाडौं, भदौ ४। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै केवल डिजिटल लोकप्रियता र सामाजिक सञ्जालको एल्गोरिदमको भरमा राज्य सञ्चालन गर्न खोज्दा मुलुक थप अन्योल र सङ्कटतर्फ जाने चेतावनी दिनुभएको छ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तलीले अघि सारेको योजनाको उदाहरण प्रस्तुत गर्दै नयाँ राजनीतिक नेतृत्वको कार्यशैलीप्रति टिप्पणी गर्नुभएको हो।
उहाँले धुर्मुस–सुन्तलीको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठुलो परियोजना सुरु गर्नु अपरिपक्व कदम भएको टिप्पणी गर्नुभएको छ। रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा परेको उल्लेख गर्दै उहाँले त्यसबाट सिक्नुपर्ने बताउनुभएको छ।
पोखरेलले अहिलेको नयाँ राजनीतिक नेतृत्वका रूपमा चर्चा भइरहेको रवि–बालेन समूहको कार्यशैली पनि त्यही दिशातर्फ अघि बढिरहेको देखिएको दाबी गर्नुभएको छ। “राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो,” पोखरेलले भन्नुभएको छ, “केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक सङ्कट गहिरिँदै गएको छ।”
उहाँले राज्य सञ्चालनका लागि लोकप्रियता मात्र पर्याप्त नहुने बताउँदै स्पष्ट योजना, दूरदृष्टि र दीर्घकालीन सोच आवश्यक रहेको उल्लेख गर्नुभएको छ। पोखरेलले राज्यसत्ता सञ्चालन आफैँमा जटिल र दीर्घकालीन प्रक्रिया भएकाले सामाजिक सञ्जालमा प्राप्त लोकप्रियता र डिजिटल प्रभावलाई मात्र राजनीतिक तथा शासन सञ्चालनको आधार बनाउँदा अपेक्षित परिणाम प्राप्त हुन नसक्ने स्पष्ट पार्नु भएको छ ।
उहाँले स्पष्ट योजना र दूरदर्शिताविना राज्यसत्तालाई स्वेच्छाचारी ढङ्गले सञ्चालन गरिए भविष्यमा नयाँ राजनीतिक नेतृत्वले पनि असमयमै सङ्कटको सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ। “स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्तालाई स्वेच्छाचारी ढङ्गले सञ्चालन गर्ने हो भने, भोलि धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न,” उहाँले भन्नुभएको छ।
पोखरेलले नयाँ राजनीतिक नेतृत्वलाई समयमै आफ्नो कार्यशैली र राज्य सञ्चालनको दृष्टिकोणबारे पुनर्विचार गर्न आग्रह गर्नु भएको छ । ‘समयमै चेत खुलोस् !’ उहाँले भन्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्