जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार १५:२६

गरिमा हत्या विरोधमा सिमरा प्रहरी कार्यालय घेराउ, विभिन्न सडकमा प्रदर्शन


बारा, भदौ ४। तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा जीतपुरसिमरामा स्थानीयवासीले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्नुभएको छ । उहाँहरूले घटनाको अनुसन्धानमा प्रहरीबाट लापरबाही भएको आरोप लगाउँदै कार्यालयका प्रमुख डीएसपी दिलिप क्षेत्रीमाथि कारबाहीको माग गर्नुभएको छ ।

स्थानीयवासीका अनुसार गरिमा हराएको जानकारी समयमै प्रहरीलाई गराए पनि खोजी कार्यमा गम्भीरता देखाइएन । प्रहरीको लापरबाहीकै कारण बालिकाको हत्या भएको उहाँहरूको आरोप छ ।

आन्दोलनका क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न ग्रामीण सडकमा टायर बालेर प्रदर्शन गरिएको छ । सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात प्रभावित भएको छ । यसअघि बुधबार दिउँसोदेखि वीरगञ्ज–पथलैया सडकखण्डसमेत बन्द गरिएको थियो ।

घटनाको विरोधमा जीतपुरसिमराका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोकसभा आयोजना गरी विद्यालय बन्द गरेका छन् । शैक्षिक क्षेत्रले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

यता, बारा जिल्ला प्रशासन कार्यालयले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न छलफल अघि बढाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बिहीबार दिउँसो आन्दोलनरत पक्षसँग निर्णायक वार्ता गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

प्रजिअ मिश्रका अनुसार बालिकाको हत्या आरोपमा संलग्न व्यक्तिहरू पक्राउ परिसकेका छन् । प्रहरीको लापरबाहीसम्बन्धी स्थानीयवासीको आरोपबारे प्रशासनले समेत छानबिन गरिरहेको उहाँले बताउनुभएको छ।