जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार १५:३५

गगनकाे देउवालाई प्रश्न : पाँचपटक प्रधानमन्त्री भइसकेकालाई छैटौँपटकको मोह किन ?


काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम नलिई उहाँमा पदप्रतिको अत्यधिक मोह देखिएको संकेत गर्नुभएको छ। पटक–पटक उच्च राजनीतिक जिम्मेवारी सम्हालिसकेका नेताहरूले समेत थप पद नपाउँदा असन्तुष्टि व्यक्त गर्ने प्रवृत्ति राजनीतिका लागि गम्भीर चुनौती भएको उहाँले बताउनुभएको हो।

बिहीबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पाँचपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले छैटौँपटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट हुने र दुईपटक पार्टी सभापति भइसकेका व्यक्तिले तेस्रोपटक सभापति बन्न नपाउँदा असन्तुष्टि जनाउने प्रवृत्ति देखिएको बताउनुभयो। “पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ, दुईपटक सभापति भएको मान्छे तेस्रोपटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ,” उहाँले भन्नुभयो, “हामी हेर्‍यौँ भने मञ्चमा बसेका मान्छे, जो जिम्मेवारी पाएका छौँ, हामी पनि असन्तुष्ट हुन्छौँ।”

सभापति थापाको उक्त अभिव्यक्ति पूर्वसभापति शेरबहादुर देउवाप्रति लक्षित रहेको कांग्रेस वृत्तमा बुझिएको छ। लामो समय पार्टीको नेतृत्व तथा पटक–पटक सरकारको नेतृत्व गरिसकेका शीर्ष नेताहरूले समेत थप पद र जिम्मेवारीप्रति आकांक्षा राख्ने प्रवृत्तिमाथि उहाँले प्रश्न उठाउनुभएको हो।

थापाले पछिल्लो समय नेपाली राजनीति पद र शक्तिको वरिपरि बढी केन्द्रित हुँदै गएको बताउँदै यस प्रवृत्तिमाथि गम्भीर पुनर्विचार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार राजनीतिक नेतृत्वको प्राथमिकता व्यक्तिगत पद, प्रतिष्ठा र शक्ति नभई जनताको अपेक्षा तथा मुलुकको आवश्यकता हुनुपर्छ।

उहाँले पटक–पटक जिम्मेवारी पाइसकेका नेताहरूले थप पदका लागि असन्तुष्टि व्यक्त गर्ने प्रवृत्तिले राजनीतिप्रति नागरिकको विश्वास कमजोर बनाउने बताउनुभयो। राजनीतिक नेतृत्वले समयअनुसार जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने संकेतसमेत उहाँको अभिव्यक्तिमा देखिएको छ।

सभापति थापाको यस्तो अभिव्यक्तिलाई नेपाली कांग्रेसभित्र नेतृत्व पुस्तान्तरण, संगठनको पुनर्संरचना र आगामी राजनीतिक कार्यदिशाबारे चलिरहेको आन्तरिक बहससँग जोडेर हेरिएको छ। उहाँले राजनीतिलाई व्यक्तिगत पदको प्रतिस्पर्धाभन्दा जनसेवा र मुलुक निर्माणको माध्यमका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।