जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०७:४०

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनका उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गरिँदै


काठमाडौं, भदौ ५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बोलाउनुभएको हो।

आगामी स्थानीय तहको निर्वाचन तथा पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूची तय गरिएको छ। बैठकको प्रमुख कार्यसूचीमा आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषय रहेको छ। निर्वाचनमा उम्मेदवार छनोट गर्दा अपनाइने विधि र प्रक्रियालाई बैठकमार्फत अन्तिम रूप दिने रास्वपाको तयारी छ।

त्यस्तै, पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकार सम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ। उक्त व्यवस्थालाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा राजनीतिक खाका तयार पार्ने पार्टीको योजना रहेको छ।

बैठकले पार्टीमा रिक्त रहेका तथा थप गर्नुपर्ने विभिन्न सांगठनिक पदमा मनोनयनसमेत गर्ने भएको छ। त्यसअन्तर्गत केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको मनोनयन तथा जिम्मेवारी बाँडफाँट गर्ने विषय रहेका छन्।

त्यस्तै, आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयन गर्ने कार्यसूची पनि रहेको छ।

रास्वपाले स्थानीय तहमा उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे पार्टीका कार्यकर्तालाई स्पष्ट पार्न केन्द्रीय सदस्य तथा सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत गरेको छ।

यसैगरी, पार्टीका आधिकारिक धारणा तथा गतिविधि सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ।