जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०८:०२

वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध, केही सडकमा राति सवारी सञ्चालनमा रोक


काठमाडौं, भदौ ५। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक वर्षाका कारण प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको तथा सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षाका कारण सडक अवरुद्ध भएका स्थानमा बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ। प्रहरीले यात्रु तथा सवारीचालकलाई आवश्यक सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।