जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ११:१४

आजको आवश्यकता व्यक्ति परिवर्तन होइन, पार्टीको समग्र पुनर्संरचना र सुदृढीकरण हो : महेश बस्नेत


काठमाडौं, भदौ ५। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र अहिले नेतृत्व परिवर्तनको बहस गर्नुभन्दा संगठन सुदृढीकरण र पार्टीको समग्र पुनर्संरचनामा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

उहाँले एमालेभित्र नेतृत्वको विरोधका नाममा भइरहेको गतिविधिले पार्टीलाई बलियो बनाउन नसक्ने बताउँदै पार्टीको नीति, संगठन, कार्यशैली र जनसम्बन्धमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले भीम रावल, घनश्याम भुसाल र माधवकुमार नेपालको राजनीतिक यात्रालाई हेर्दा नेतृत्वको विरोधले मात्र राजनीतिक प्रभाव बलियो नहुने देखिएको बताउनुभएको छ। पार्टीबाट बाहिरिएपछि उहाँहरूको राजनीतिक प्रभाव झन् कमजोर भएको उहाँको टिप्पणी छ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले उहाँको नेतृत्वलाई संस्थागत र लोकतान्त्रिक प्रक्रियाबाट सम्मान गर्नुपर्ने बताउनुभएको छ। महाधिवेशनमा अध्यक्ष ओलीकै समूहमा रहन प्रतिस्पर्धा गर्ने केही नेताहरूले महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्नु लोकतान्त्रिक विधि र संस्थागत प्रक्रियामाथिको प्रहार भएको उहाँको भनाइ छ। “आजको आवश्यकता व्यक्ति परिवर्तन होइन, पार्टीको समग्र पुनर्संरचना र सुदृढीकरण हो,” उहाँले भन्नुभएको छ।

सचिव बस्नेतले पार्टी पुनर्गठन केवल नेतृत्व वा व्यक्तिको परिवर्तनबाट सम्भव नहुने उल्लेख गर्दै एमालेको नीति, संगठन, कार्यशैली तथा जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ। “सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन,” उहाँले भन्नुभएको छ।

उहाँले एमालेभित्र फैलाइएको भ्रम चिर्दै पार्टीलाई थप एकताबद्ध बनाउने र सरकारका गलत कदमविरुद्ध खबरदारी गर्ने समय अहिले भएको बताउनुभएको छ।

नेतृत्व परिवर्तनको समय पनि लोकतान्त्रिक प्रक्रियाबाट आउने उल्लेख गर्दै सचिव बस्नेतले त्यसबेला सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभएको छ। अहिले भने पार्टीभित्र धैर्य, एकता र संगठन सुदृढीकरण आवश्यक रहेको उहाँको भनाइ छ। “अहिले धैर्य, एकता र संगठन सुदृढीकरण आवश्यक छ,” उहाँले भन्नुभएको छ।