काठमाडौं, भदौ ५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा जारी रहेको छ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, उम्मेदवार छनोट, संगठन सुदृढीकरण तथा पार्टीका विभिन्न सांगठनिक विषयमा छलफल भइरहेको बताइएको छ।
बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्ने तथा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने प्रस्ताव पेस हुने जनाइएको छ। उम्मेदवार छनोटको प्रक्रिया र विधिबारे पार्टीका कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।
त्यस्तै, रास्वपाले अघि सार्दै आएको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण तथा त्यसको कार्यान्वयनका लागि आवश्यक कानुनी र राजनीतिक खाका तयार गर्ने विषय पनि बैठकको एजेन्डामा रहेको छ।
बैठकले पार्टीमा रिक्त तथा थप गर्नुपर्ने पदमा मनोनयन, सचिवालय सदस्य तथा विभिन्न विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँटलगायत संगठनात्मक विषयमा समेत निर्णय गर्ने बताइएको छ। पार्टीका धारणा तथा गतिविधि सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने जनाइएको छ।
रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक बसिरहेका बेला पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने बैठकमा सहभागी हुनुभएको छैन। उहाँ शुक्रबार बिहानै पूर्वयोजना याेजना बिना नै पोखरा भ्रमणका लागि गाडीमार्फत प्रस्थान गर्नुभएको बताइएको छ।
प्रधानमन्त्री शाह पार्टीको महत्त्वपूर्ण केन्द्रीय समिति बैठककै दिन पोखरातर्फ लाग्नुभएपछि उहाँ बैठकमा अनुपस्थित हुनुभएको हो। उहाँ पाेखराबाट मुस्ताङ पुग्ने बताइएकाे छ । तर त्यसकाे सुरक्षा अधिकारीलाई समेत कुनै जानकारी दिइएकाे छैन ।
रास्वपाले गत साउन १३ गते उहाँलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। उहाँ रास्वपाको संसदीय दलको नेतासमेत हुनुहुन्छ। पार्टीको पहिलो महाधिवेशनपछि वरिष्ठ नेताको जिम्मेवारी पाउनुभएका शाह यसअघि पनि आफूलाई वरिष्ठ नेता बनाउने निर्णय भएको दिन पार्टीको बैठकमा सहभागी हुनुभएको थिएन।
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि शाह गत पुस १३ गते आफ्नो समूहसहित रास्वपामा एकताबद्ध हुनुभएको थियो। त्यसबेला पनि उहाँलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो।
शुक्रबारको बैठकबाट पार्टीका विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखको मनोनयनलगायत महत्वपूर्ण सांगठनिक निर्णय हुने तयारी भइरहेका बेला वरिष्ठ नेता शाहको अनुपस्थितिलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।














प्रतिक्रिया दिनुहोस्