काठमाडौं, भदौ ६ ।आज देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
महाशाखाले मौसमसम्बन्धी थप सूचना तथा पूर्वानुमान नियमित रूपमा अद्यावधिक गरी आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्