जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०७:३९

एमाले बागमतीका जनसंगठनको दुईदिने कार्यशाला आजबाट नगरकोटमा, पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने 


काठमाडौं, भदौ ६। नेकपा एमालेले बागमती प्रदेशअन्तर्गतका जनसंगठनका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने दुईदिने कार्यशाला आजदेखि भक्तपुरको नगरकोटमा आयोजना गर्दैछ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा हुने कार्यशाला आज बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ। कार्यशालामा बागमती प्रदेश तथा जिल्ला अन्तर्गत रहेका २४ वटा जनसंगठनका प्रमुख तथा प्रतिनिधि गरी १ सय ५८ जनाको सहभागिता रहने संयन्त्रले जनाएको छ।

कार्यशालाको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

कार्यशालामा जनसंगठनका नियमित गतिविधिमा देखिएको सुस्तता, सम्बन्धित वर्ग, समुदाय तथा पेशाकर्मीमा घट्दो आकर्षण, बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशसँग सामना गर्ने संगठनको क्षमता, संगठनले आफ्ना वर्ग तथा समुदायलाई आवश्यकताअनुसार परिचालन गर्न सक्ने अवस्थालगायतका विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

कार्यशालामा विशेषगरी जनसंगठनका नियमित भेला, बैठक तथा सदस्यता वितरणजस्ता गतिविधिमा आएको सुस्तताको कारण पहिचान गरी त्यसलाई अन्त्य गर्ने उपायबारे छलफल गरिनेछ। साथै सम्बन्धित वर्ग, समुदाय र पेशाकर्मीमा संगठनप्रतिको आकर्षण घट्नुका कारण तथा आकर्षण बढाउन आवश्यक रणनीतिबारे पनि सहभागीहरूले धारणा राख्नेछन्।

त्यस्तै, बदलिँदो परिवेश र थपिँदै गएको चुनौती सामना गर्न जनसंगठनको वर्तमान सामर्थ्य, कमजोर पक्ष र त्यसलाई सुधार गर्न आवश्यक कदमबारे छलफल हुने जनाइएको छ।

आफ्नो वर्ग, समुदाय तथा पेशाकर्मीलाई आवश्यकताअनुसार आन्दोलनमा परिचालन गर्न संगठनको क्षमता कस्तो छ भन्ने विषय पनि कार्यशालाको छलफलको मुख्य एजेन्डा रहनेछ। यसका साथै सम्बन्धित वर्ग, समुदाय र पेशाकर्मीका ज्वलन्त मुद्दाको पहिचान तथा संगठन विस्तारका लागि पार्टीबाट अपेक्षित सहयोगबारे समेत सहभागीहरूले सुझाव दिनेछन्।

कार्यशालाबाट जनसंगठनलाई थप सक्रिय, प्रभावकारी र संगठन विस्तारमा केन्द्रित बनाउने रणनीति तय गर्ने एमालेको तयारी रहेको छ।