जनता टाइम्स

६ भाद्र २०८३, शनिबार १८:५८

गुटबन्दीको हल्ला निराधार हो, एमाले एकताबद्ध छ : महासचिव शंकर पोखरेल


विराटनगर भदाै ६ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी वा विवाद नरहेको स्पष्ट पार्नुभएको छ। अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध चिसिएको भन्ने चर्चा निराधार भएको उहाँले बताउनुभयाे । 

शनिबार विराटनगरमा आयोजित ‘मिसन जागरण अभियान–२०८३’ अन्तर्गतको महानगरस्तरीय प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमाले नेतृत्वबीच कुनै असमझदारी नरहेको स्पष्ट पार्दै पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । 

एमाले विराटनगर महानगर कमिटीले आयोजना गरेको ‘मुलुकको राष्ट्रिय राजनीति र अबको कार्यदिशा’ विषयक प्रशिक्षणमा उहाँले पार्टी सचिवालयले गरेको पुनर्गठनसम्बन्धी निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गरिने बताउनुभयो। पार्टीलाई संगठनात्मक रूपमा थप चुस्त, सक्रिय र जनतासँग जोडिएको बनाउनुपर्ने उहाँको भनाइ थियो।

महासचिव पोखरेलले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति पनि कडा आलोचना गर्नुभयो। उहाँले संसदीय लोकतन्त्रका मूल्य, मान्यता र प्रक्रियालाई बेवास्ता गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभयो।

उहाँले प्रधानमन्त्रीले संसदीय दलको बैठकलाई महत्व नदिने, संसद्मा उपस्थित नहुने तथा पार्टीका निर्णयलाई बेवास्ता गर्ने प्रवृत्ति उचित नभएको टिप्पणी गर्नुभयो। पछिल्लो राजनीतिमा ‘पपुलिजम’, ‘अनार्किजम’ र ‘अपर्चुनिजम’ हाबी भएको दाबी गर्दै उहाँले यस्ता प्रवृत्तिले दीर्घकालीन राजनीतिक स्थायित्व दिन नसक्ने बताउनुभयो।

पोखरेलले जनतामा तत्काल लोकप्रियता हासिल गर्ने उद्देश्यले भ्रम सिर्जना गर्ने राजनीति लामो समय टिक्न नसक्ने दाबी गर्नुभयो। उहाँका अनुसार पपुलिजमले समाजमा घृणा र अविश्वास बढाउने भएकाले राजनीतिक दलहरूले लोकप्रियताभन्दा नीति, विचार र जनताको विश्वासलाई प्राथमिकता दिनुपर्छ।

रास्वपाप्रति टिप्पणी गर्दै महासचिव पोखरेलले उक्त पार्टीमा वैचारिक स्पष्टताको अभाव रहेको दाबी गर्नुभयो। अनुभवको कमी र अवसरवादी प्रवृत्तिले मुलुकलाई दीर्घकालीन निकास दिन नसक्ने उहाँको तर्क थियो।

महासचिव पोखरेलले नेपालको वामपन्थी आन्दोलन पछिल्लो समय रक्षात्मक अवस्थामा पुग्नुको गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। कुनै समय करिब ६० प्रतिशतसम्म जनमत रहेको वामपन्थी शक्ति अहिले २२–२३ प्रतिशतमा सीमित हुनु चिन्ताको विषय भएको उहाँको भनाइ थियो।

एमालेले नाकाबन्दीको सामना गरेको, नेपालको नयाँ नक्सा जारी गरेको तथा ठूला पूर्वाधार निर्माणका काम अघि बढाएको भए पनि अपेक्षाअनुसार चुनावी परिणाम हासिल हुन नसक्नुको कारण पार्टीको कार्यशैलीमा कमजोरी रहेको उहाँले स्वीकार गर्नुभयो। ‘हामीले काम त धेरै गर्‍यौँ, तर जनताको मन पढ्न सकेनौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो सम्बन्ध जनतासँग औपचारिक मात्र भयो, अनौपचारिक र भावनात्मक हुन सकेन।’

पोखरेलले एमालेको संगठनमा नयाँ पुस्ताको सहभागिता बढाउनुपर्नेमा विशेष जोड दिनुभयो। उहाँका अनुसार एमालेका करिब ७० प्रतिशत कार्यकर्ता ४४ वर्षभन्दा माथिका छन् भने सामाजिक सञ्जालमा सक्रिय युवाको ठूलो हिस्सा ४४ वर्षभन्दा कम उमेरको छ। नयाँ पुस्ताको मनोविज्ञान, रुचि र सञ्चार शैली बुझ्न पार्टी चुकेको स्वीकार गर्दै उहाँले सामाजिक सञ्जालमा प्रभावकारी उपस्थिति बढाउनुपर्ने बताउनुभयो। फेक न्युज तथा भाइरल सामग्रीका कारण एमालेले गरेका सकारात्मक कामसमेत ओझेलमा परेको उहाँको भनाइ थियो।

उहाँले पार्टीका विभिन्न तहमा युवालाई कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व गराउँदै नयाँ पुस्तालाई संगठनमा जोड्नुपर्ने बताउनुभयो।

महासचिव पोखरेलले २०८४ को निर्वाचनमा एमालेलाई पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित ‘मिसन जागरण’ अभियान अघि बढाइएको बताउनुभयो।  उहाँले पार्टीले अब घरदैलो तथा टोल–टोलमा पुगेर जनताका कुरा सुन्ने, गुनासा र सुझावलाई प्राथमिकता दिने, संवादमार्फत जनताको विश्वास जित्ने, असन्तुष्ट तथा इमानदार कार्यकर्तालाई पुनः सक्रिय बनाउने, टोलदेखि प्रदेश तहसम्मका कमिटीलाई जिम्मेवार बनाउने र पार्टीसम्बद्ध २४ वटै जनसंगठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने कार्यदिशा अघि सार्नुभयाे । 

एमालेलाई पुनर्जीवन दिन ‘मिसन जागरण’ अभियानलाई गम्भीरतापूर्वक अघि बढाउन आग्रह गर्दै उहाँले पराजयबाट निराश नभई नयाँ आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभयो। ‘हारले हामी समाप्त भएका होइनौँ। पराजित सिपाहीको मनोबल उच्च बनाएर फेरि विजयी बन्ने संकल्पका साथ अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अबको लडाइँ सडकबाट सरकार बदल्ने होइन, जनताको मन जितेर बहुमतको सरकार बनाउने हुनुपर्छ।’