काठमाडौं । वैज्ञानिकहरूले मानिसको आन्द्रामा पाइने एउटा विशेष ब्याक्टेरियाले शरीरको मांसपेशीलाई सधैँ बलियो बनाउने नयाँ तथ्य पत्ता लगाएका छन् । नेदरल्यान्ड्स र स्पेनका वैज्ञानिकहरूको संयुक्त टोलीले गरेको अनुसन्धानले पेटको स्वास्थ्य र शारीरिक शक्तिबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको हो । अध्ययनअनुसार, आन्द्रामा पाइने ‘रोजबुरिया इनुलिनिभोरेन्स’ नामक सूक्ष्म जीवले मांसपेशीलाई मजबुत राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
परीक्षणका क्रममा, यो ब्याक्टेरिया भएका ६५ वर्षभन्दा माथिका पाका मानिसहरूमा हातको पकड शक्ति अरूको तुलनामा २९ प्रतिशतले बढी पाइएको थियो । त्यसैगरी, मुसामा गरिएको परीक्षणमा पनि यसले शरीरको शक्ति ३० प्रतिशतले बढाउनुका साथै छोटो समयमा धेरै बल लगाउन आवश्यक पर्ने मांसपेशीका फाइबरहरूको आकार बढाएको देखिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार, मानिसको उमेर ढल्किँदै जाँदा आन्द्रामा यो ब्याक्टेरियाको मात्रा प्राकृतिक रूपमै कम हुँदै जान्छ । यही नयाँ खोजको आधारमा, भविष्यमा बुढ्यौलीमा हुने मांसपेशीको कमजोरी रोक्न विशेष ‘प्रोबायोटिक’ औषधि वा खानपान तयार पार्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।
प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल ‘गट’ मा प्रकाशित यो अध्ययनले शरीर स्वस्थ र बलियो राख्न पेटभित्रका राम्रा ब्याक्टेरियाको महत्त्वलाई थप उजागर गरिदिएको छ ।














प्रतिक्रिया दिनुहोस्