जनता टाइम्स

७ भाद्र २०८३, आईतवार ०७:३३

एमाले नेताहरूमाथि सूर्य थापाको प्रश्न : बालेन सरकारविरुद्ध सोझिनुपर्ने निशाना अध्यक्ष ओलीविरुद्ध किन ?


काठमाडौं, भदौ ७ । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीकै केही नेताहरूबाट सार्वजनिक रूपमा भइरहेका टिप्पणीप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाउनुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले पार्टीका नेता अमृतकुमार बोहरा, ठाकुर गैर लगायत नेताहरूका पछिल्ला अभिव्यक्ति तथा पार्टीभित्र सञ्चालन भइरहेका गतिविधिप्रति आफूलाई उदेक लागेको बताउनुभएको छ।

उहाँले सार्वजनिक भएका कतिपय अभिव्यक्ति सम्बन्धित नेताहरूका वास्तविक धारणा हुन् वा पार्टीभित्र अन्तर्विरोध सिर्जना गर्ने उद्देश्यले सञ्चालित दुष्प्रचारको हिस्सा हुन् भन्नेबारे स्पष्ट हुनुपर्ने बताउनुभएको छ।

थापाले सम्बन्धित नेताहरूले अध्यक्ष ओलीसँग प्रत्यक्ष भेटेर वा फोनमार्फत संवाद गरेर विषय स्पष्ट पार्नुपर्ने धारणा राख्नुभएको छ। सञ्चारमाध्यममा आएका विषयका कारण तरङ्ग उत्पन्न भएको भए पनि त्यसको पूर्ण सन्दर्भ बुझेर मात्रै धारणा बनाउनुपर्ने उहाँको भनाइ छ।

अध्यक्ष ओलीले प्रयोग गर्नुभएको ‘आवारा’ र ‘किर्ना’ जस्ता शब्द आफ्नै नेता–कार्यकर्तालाई लक्षित हुन् भन्ने निष्कर्ष निकालेर त्यसकै आधारमा अध्यक्षविरुद्ध आक्रमण गर्नु उचित नहुने थापाले उल्लेख गर्नुभएको छ।

उहाँले पार्टी पुनर्गठनका नाममा अध्यक्षले तत्काल पद छाड्नुपर्ने वा हटाउनुपर्ने बहस चलाइनुको औचित्यमाथि समेत प्रश्न उठाउनुभएको छ। ‘आज केही साथीहरूको मुख्य पार्टी काम नै अध्यक्षलाई हटाउने अभियान हो त ?’ भन्दै थापाले यस्तो गतिविधि एमालेले चाहेको हो वा अरू कसैले भन्ने प्रश्न गर्नुभएको छ।

महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई स्वीकार गरेर विधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै थापाले नवौँ, दशौँ र एघारौँ महाधिवेशनका प्रक्रियामा नेतृत्व परिवर्तनका प्रयासहरू असफल भएको स्मरण गराउनुभएको छ। फागुन २१ को निर्वाचन परिणामको सम्पूर्ण जिम्मेवारी अध्यक्ष ओलीलाई मात्र दिएर सार्वजनिक निन्दा र विरोधको अभियान चलाउँदा पार्टी संस्थागत निष्कर्षमा पुग्न नसक्ने उहाँको तर्क छ।

थापाले एमाले र अध्यक्ष ओलीलाई समाप्त पार्न सत्तापक्षबाट प्रयास भइरहेको दाबी गर्दै एमालेकै केही नेताहरूको अभिव्यक्ति सत्ताधारी पक्षसँग मिलेजस्तो देखिनुको कारणबारे समेत प्रश्न गर्नुभएको छ।

नेतृत्वका अभिव्यक्तिमा प्रयोग भएका शब्द, भाषा वा रूपकप्रति असहमति भए प्रत्यक्ष संवाद र ध्यानाकर्षणमार्फत समाधान खोज्न सकिने उल्लेख गर्दै उहाँले पार्टीभित्र नेतृत्वविरुद्ध बढ्दै गएको यस्तो कार्यशैलीले अन्ततः एमालेको संगठनात्मक एकतामाथि असर पार्न सक्ने चेतावनी दिनुभएको छ।

यस्तो छ थापाको धारणा :

रहस्यमय खलपात्र बालेन साह सरकारविरुद्ध सोझिनुपर्ने तिर र निशाना पार्टी अध्यक्षविरुद्ध किन ???

पार्टीका अत्यन्तै सम्मानित नेता अमृतकुमार बोहराको एउटा फेसबुक स्ट्याटस, केशवप्रसाद बडालको बोली फिर्ता लिनुपर्छ भन्ने अन्तर्वार्ता, युवराज कार्की लगायतको भनिकन सार्वजनिक टिप्पणी, बौद्धिक परिषद्का अध्यक्षको अध्यक्ष कमरेडले आफैलाई आवारा भनेकोजस्तो गरी सञ्चालित कथित चिया अभियान, केन्द्रीय सल्लाहकार परिषद् सदस्यको “ओलीको अनुहार टेलिभिजनमा किन आइरहन्छ ? मान्छे हेर्नै चाहन्नन्”भनेर टेलिभिजनमै दिएको अभिव्यक्ति र एक जना केन्द्रीय सदस्यको “ओली हटाउनु एमालेको मिसन हो!” जस्ता टिप्पणी पढ्न पाउँदा उदेक लागेको छ। ती टिप्पणी सम्बन्धित व्यक्तिका सही हुन् कि पानी मिडियाले “ओलीलाई घर दिए बापत मुख्यमन्त्री पद उपहार” भनेर गरेका भ्रम र दुराशयपूर्ण टीकाटिप्पणीजस्तै एमालेमा अन्तर्ध्वंस मच्चाउन योजनाबद्ध रूपमा गरेको कोसिसकै हिस्सा हुन् ?

सम्बन्धित कमरेडहरूको अध्यक्षसँग भेट भएको छैन भने भेटेर, कुरा भएको छैन भने मोबाइलबाट कल डायल गरी संवाद गरेर, मिडियामा छालिएको विषयको तरङ्ग र प्रभाव हो भने छेउदेखि टुप्पोसम्म पूरै वाक्य र सन्दर्भ सुनेर तथा विरोधीले चलखेल गर्न खोजेको दुराशय हो भने त्यसलाई रणनीतिक हिसाबले मनन गरेर सही बुझाइ, धारणा र निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ।व्यक्तिको स्वयं सही धारणा र दृष्टिकोण निर्माणले सार्वजनिक अभिव्यक्तिमा अहम् महत्त्व राख्दछ।

अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेको ‘मेटाफर-आवारा र किर्ना’ मलाई नै हो, अझ पार्टीका नेता, कार्यकर्तालाई हो जस्तोगरी आक्रमणको तिर सोझ्याउनु बुझक्कड नेता-कार्यकर्ताको सही कार्यतरिका किमार्थ पनि होइन।

जहाँसम्म पुनर्गठन भन्दै अध्यक्षले पद छोडिहाल्नुपर्ने, तत्काल छोड्नुपर्ने वा अन्यथा हटाउनुपर्ने र हटाउनेजस्ता क्रियाकलाप के भइरहेका हुन ? के कतिपय साथीहरूको आज मुख्य पार्टी काम नै यही भएको हो त ? यो खासमा कसले चाहेको छ- नेकपा(एमाले)ले कि अरू कसैले ?

महाधिवेशनले निर्वाचित गरेको नेतृत्व र अध्यक्षले त्यही महाधिवेशनमा प्यानलसहित अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार भएपछि प्राप्त जयपराजयको परिणामलाई स्वीकार गरेर विधानतः अघि बढ्नु उचित हुन्छ। नवौँ, दसौँ र एघारौँ महाधिवेशनमा सकेनौँ ? अब टोपी हातमा लिएर कुद्दै फागुन २१ को पराजयको एक्लो जबाफदेही उहाँलाई बनाउँछौँ भनेर सार्वजनिक निन्दा र विरोधको अभियान सञ्चालन गरेर पार्टी संस्थागत रूपमा निष्कर्षमा पुग्न सम्भव हुन्छ र ? उहाँलाई अध्यक्ष बनाउन यसैगरी लागेको भन्ने ट्याकरेकर्ड छ ?

सिङ्गो सत्ताले अध्यक्ष ओली र एमालेलाई समाप्त पार्न खोजेकै छ, अनि एमालेकै कतिपय नेताहरूका स्वर सत्ताधारीसँग मिलेको किन त ? अध्यक्षको अभिव्यक्तिमा प्रयोग गरिएका पदावली, भाषा, बिम्ब र रूपक बुझ्न समस्या भयो भने टेलिफोन गरेर वा भेटेर सरल भाषामा बोल्न ध्यानाकर्षण गराउँदा भइहाल्छ। तर नेतृत्व र अध्यक्षका सम्बन्धमा यस्तै तरिका र कार्यशैली अपनाउने गरेर पुगिन्छ कहाँ ? पुर्याउने कहाँ ? प्राय: जिल्लाहरूमा यस्तो प्रवृत्ति बढ्दै बढाउँदै जाँदा पार्टी कहाँ रहन्छ ?