काठमाडौं, भदौ ७। प्रधानमन्त्री बालेन्द्र शाह आइतबार बिहान ९ः५० बजे मुस्ताङबाट काठमाडौं फर्किनुभएको छ। शनिबार राति पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि मुस्ताङ पुग्नुभएका उहाँ एक रात बसेर काठमाडौं फर्किनुभएको हो।
मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३ जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बस्नुभएको थियो। विष्णु राज र उहाँकी श्रीमती लालकुमारी हिराचनले पाँच दशकअघिदेखि सञ्चालन गर्दै आउनुभएको उक्त होटलमा प्रधानमन्त्री शाहले एक रात बिताउनुभएको थियो।
परिवारसहित मुक्तिनाथ पुग्नुभएका प्रधानमन्त्री शाहले शनिबार साँझ मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो। उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो।
पूजाअर्चना सकेर प्रधानमन्त्री शाह शनिबार राति करिब ८ः४५ बजे मुक्तिनाथ मन्दिरबाट फर्किनुभएको थियो। त्यसपछि उहाँ कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्ड हुँदै जोमसोम पुग्नुभएको थियो।
प्रधानमन्त्री शाहको भ्रमणलाई ध्यानमा राख्दै म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा व्यवस्था सुदृढ पारेको थियो।
स्रोतका अनुसार प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक रहेको थियो। भ्रमणका क्रममा कुनै अतिरिक्त औपचारिक कार्यक्रम राखिएको थिएन।














प्रतिक्रिया दिनुहोस्