जनता टाइम्स

७ भाद्र २०८३, आईतवार १०:५८

एमाले नेतृ रामकुमारी झाँक्रीको प्रश्न : एक जना अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?


काठमाडौं, भदौ ७ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनको विषयमा प्रश्न उठाउँदै नेतृत्व परिवर्तन मात्रलाई पार्टी पुनर्गठन भन्न नसकिने धारणा सार्वजनिक गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनको अर्थ एक जना अध्यक्षलाई हटाउने मात्रै हो कि पुरानो संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्धमा समेत परिवर्तन आवश्यक हुन्छ भन्ने प्रश्न गर्नुभएको हो।

झाँक्रीले यदि पुनर्गठनको नाममा एक जना अध्यक्ष हटाएर बाँकी पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्धलाई निरन्तरता दिइन्छ भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्नुभएको छ। ‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?’, उहाँकाे प्रश्न छ । 

उहाँले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको विषयमा समेत प्रश्न उठाउनुभएको छ। जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि नै एमालेको विधान महाधिवेशन सम्पन्न भएको सन्दर्भ उल्लेख गर्दै झाँक्रीले त्यतिबेला पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको हो भन्ने जिज्ञासा व्यक्त गर्नुभएको छ।