काठमाडौं, भदौ ७ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।
सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ जाँदै गरेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४, बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उहाँकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका आमाछोरीलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएको थियो। तर, अस्पतालका चिकित्सकले उहाँहरूलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न विद्युतीय गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्