जनता टाइम्स

७ भाद्र २०८३, आईतवार १४:५९

सुगौली सन्धिपछि नेपालले अहिलेकाे जस्ताे भयानक राष्ट्रिय संकट भोग्नु परेको थिएन : प्रचण्ड


काठमाडौं, भदौ ७ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले गम्भीर राष्ट्रिय संकटबाट गुज्रिरहेको बताउनुभएको छ।

‘कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा आइतबार बोल्दै संयोजक प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट देखिएको बताउनुभएको हो।  उहाँले सुगौली सन्धिपछि नेपालले अहिलेको जस्तो भयानक राष्ट्रिय संकट भोग्नुपरेको आफूलाई नलागेको धारणा व्यक्त गर्नुभएको छ।

उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, देशभक्तिपूर्ण तथा राष्ट्रवादी आन्दोलन र कम्युनिष्ट आन्दोलनबीच नङ र मासुको सम्बन्ध रहेको उल्लेख गर्नुभयो। नेकपा गठन भएदेखि नै देशभक्तिको आन्दोलन र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि कम्युनिष्ट पार्टीले संघर्ष गर्दै आएको उहाँको भनाइ थियो।

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि कम्युनिष्ट पार्टीहरूबीच एकताको विकल्प नरहेको बताउँदै प्रचण्डले कम्युनिष्ट आन्दोलन आफूहरू वर्गबाट किन टाढिएको हो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले सहकार्य, एकता र पुनर्गठनको प्रक्रियामार्फत अघि बढ्न सके नेपाली कम्युनिष्ट आन्दोलन पुनः देशको नेतृत्व गर्ने अवस्थामा पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

प्रचण्डका अनुसार पछिल्लो समय नेकपा, नेकपा एमाले र नेकपा मसालसँग सहकार्यको प्रक्रिया अघि बढाउने प्रयास भइरहेको छ। यस्ता प्रयास तत्काल हेर्दा सामान्य देखिए पनि त्यसको पछाडि देश जोगाउने र बलियो राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो। “यी प्रयासहरू अहिले हेर्दा सामान्य देखिन सक्छन्। यसका पछाडिको हाम्रो मनसाय देश बचाउने र एउटा बलियो शक्ति बनाउने उद्देश्यसँग जोडिएको छ,” उहाँले भन्नुभयो।

कम्युनिष्ट शक्तिबीचको सहकार्यको उद्देश्य केवल सरकारमा सहभागी हुनु नरहेको उहाँले स्पष्ट पार्नुभयो। आन्दोलन र वर्गसंघर्षलाई प्राथमिकतामा राखेर सहकार्य अघि बढाउनुपर्ने उहाँको धारणा थियो।

उहाँले विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्न सक्ने बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेको उहाँले बताउनुभयो।