जनता टाइम्स

७ भाद्र २०८३, आईतवार १५:०७

प्रचण्डको स्वीकारोक्ति : कार्यनीति र रणनीतिको चक्करमा फस्दा हामीबाट गम्भीर त्रुटी भयो


काठमाडौं, भदौ ७ । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यनीति र रणनीतिको चक्करमा फस्दा गम्भीर त्रुटि भएको स्वीकार गर्नुभएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताउनु भएको हो ।

आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा असफल भएको उहाँको निश्कर्ष छ । आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भएको उहाँको भनाई छ ।

‘हामी बढी कार्यनीतिमा अल्झियौ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो । हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो,’ संयोजक दाहालले भन्न्ुभयो । जनयुद्धको रणनीति प्राप्तिका निम्ति कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफल भए पनि अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा चक्करमा फसेको उहाँको भनाई छ ।

‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो, यही हाम्रो मुख्य त्रुटी भयो । तर हाम्रो बैरी भने कार्यनीति छाडेर रणनीतिमा केन्द्रित भयो । उनीहरूले कसरी नेपालबाट कम्युनिस्टलाई सखाप पार्ने भनेर केन्द्रित भए,’ संयोजक दाहालले भन्नुभयो ।