जनता टाइम्स

७ भाद्र २०८३, आईतवार १६:०४

सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख : प्रदीप ज्ञवाली


काठमाडौं, भदौ ७ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक असाध्यै असामान्य अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ। 

उहाँले वर्तमान सरकारका पछिल्ला पाँच महिनाका गतिविधिले सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको सङ्केत गरेको दाबी गर्नुभयो । 

‘कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा आइतबार बोल्दै नेता ज्ञवालीले नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका राजनीतिक उपलब्धि गुम्ने अवस्थामा पुगेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले संसद्, संविधान, कानुन र आफूलाई सरकार गठन गर्ने राजनीतिक शक्तिसमेतलाई बेवास्ता गर्दै अघि बढेको आरोप लगाउनुभयो। 

सरकारको आर्थिक नीति तथा व्यवहारसमेत सर्वसाधारण नागरिकको हित विपरीत रहेको उहाँको दाबी थियो।  ‘पाँच महिनाको लक्षणले यो सरकार निर्वाचित अधिनायकवाद तिर उन्मुख भएको छ, प्रधानमन्त्री संसद्, संविधान कानुन र आफैँलाई प्रधानमन्त्री बनाएको पार्टीलाई समेत बेवास्ता गरेर अघि बढ्नु भएको छ’, उहाँले भन्नुभयो । 

सरकारले सुकुम्वासीलाई सबैभन्दा ठुलो शत्रुका रूपमा हेरेको आरोप लगाउँदै ज्ञवालीले सरकारका गलत क्रियाकलापविरुद्ध बोल्ने नागरिकलाई साइबर बुलिङमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको बताउनुभयो।

उहाँले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको जगमा फागुनमा निर्वाचन भएको र त्यही प्रक्रियाबाट वर्तमान शक्तिको उदय भएको दाबी गर्नुभयो। वर्तमान शक्तिलाई सत्तामा पुर्‍याउने शक्तिप्रति नै सरकारको बफादारी रहेको उहाँको आरोप थियो।

सरकारका गतिविधिका कारण नेपालका दुवै छिमेकी मुलुक सशङ्कित बनेको दाबी गर्दै ज्ञवालीले छिमेकीको विश्वास नलिई मुलुक अघि बढ्न नसक्ने बताउनुभयो। सरकारले छिमेकीको विश्वाससमेत गुमाउँदै गएको र छिमेकीका आधारभूत सरोकारमा आँच पुर्‍याउने काम भइरहेको उहाँको आरोप थियो। “कूटनीतिक दुर्घटनातिर मुलुक जाने सङ्केत देखिएको छ,” उहाँले भन्नुभयो।

नेता ज्ञवालीले पछिल्लो समय नेपाली समाजलाई सामाजिक, जातीय तथा धार्मिक द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्नुभयो। यस्तो अवस्थामा सामाजिक संयोजनको भूमिका कम्युनिष्ट पार्टीहरूले निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

त्यसका लागि मिल्न सक्ने कम्युनिष्ट तथा लोकतान्त्रिक सक्तीहरूबिच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। कम्युनिष्ट पार्टीहरूका आ–आफ्ना कमजोरी रहेको स्वीकार गर्दै उहाँले नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट आन्दोलनको योगदानलाई हटाएर इतिहास लेख्न नसकिने बताउनुभयो।

कम्युनिष्ट पार्टीहरू केही हदसम्म जनताबाट टाढिएको स्वीकार गर्दै ज्ञवालीले आफूलाई लोकप्रिय दाबी गर्ने नयाँ शक्तिहरू पनि क्रमशः जनताबाट विमुख हुँदै गएको टिप्पणी गर्नुभयो। अब कम्युनिष्टहरू जनतामाझ पुगेर विश्वास आर्जन गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

“हामी अलिकति जनताबाट टाढिन पुगेको सत्य हो। तर आफूलाई लोकप्रिय भन्नेहरू बिस्तारै जनताबाट विमुख हुँदै छन्। अब हामी जनताको बिचमा जानुपर्छ र विश्वास लिएर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

जनताको विश्वास पुनः हासिल गर्न सके कमजोर भएको जनमतलाई फर्काउन सकिने उहाँले बताउनुभयो। अझै पनि राज्यसत्ताको लोकतान्त्रिक रूपान्तरण पूरा नभएको भन्दै उहाँले राज्यका स्थायी संयन्त्रको लोकतान्त्रीकरण हुन नसक्दा भदौ २३ र २४ गतेका घटना भएको दाबी गर्नुभयो।

देशलाई सङ्कटबाट जोगाउन जनताको सशक्त हस्तक्षेप आवश्यक रहेको बताउँदै नेता ज्ञवालीले आवश्यक परे सडक संघर्षको तयारीसहित अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठनमार्फत जनतासँगको सम्बन्ध बलियो बनाउँदै मुलुकको लोकतान्त्रिक रूपान्तरण र राष्ट्रिय हितको पक्षमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।