काठमाडौं, भदाै ७। नेकपा (एमाले) बागमती प्रदेश जनसंगठन संयन्त्रले जनजीविका, शान्ति–सुरक्षा, राष्ट्रिय स्वाधीनता र सरकारका कामकारबाहीप्रति गम्भीर प्रश्न उठाउँदै आगामी निर्वाचनमा पार्टीलाई अत्यधिक बहुमतका साथ विजयी गराउने संकल्प गरेको छ।
भदौ ६ र ७ गते नगरकोटमा करिब १६० जना प्रतिनिधिको सहभागितामा सम्पन्न दुईदिने आवासीय कार्यशालाले विभिन्न समसामयिक विषयमा छलफल गर्दै ‘नगरकोट घोषणा’ जारी गरेको हो। कार्यशालाले सरकारलाई किसानका समस्या समाधानदेखि जनताको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक वस्तुको सहज आपूर्तिसम्मका विषयमा तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।
कार्यशालाले खेतीपातीको मुख्य सिजनमा किसानले रासायनिक मल नपाएको विषयलाई सरकारको गैरजिम्मेवारीको संज्ञा दिँदै तत्काल पर्याप्त मल उपलब्ध गराउन माग गरेको छ। यस्तै, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव र मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको भन्दै सहज आपूर्तिको ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ।
शान्ति–सुरक्षाको अवस्थाप्रति पनि कार्यशालाले गम्भीर चिन्ता व्यक्त गरेको छ। बारामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरिएको छ। पीडित परिवारलाई क्षतिपूर्ति तथा देशभर महिला र बालबालिकाको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरिएको छ।
कार्यशालाले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर पनि प्रश्न उठाएको छ। पूर्वजानकारी र स्पष्ट उद्देश्यविना भएको भनिएको भ्रमणले नेपालको भूराजनीतिक संवेदनशीलतामाथि प्रश्न उठाएको भन्दै मुस्ताङ क्षेत्रमा रहेको भनिएको युरेनियम बाह्य शक्तिलाई सुम्पिने प्रपञ्च भइरहेको भन्ने आशंकाबारे सरकारले स्पष्ट पार्नुपर्ने एमाले जनसंगठनको धारणा छ। राष्ट्रिय हित र सार्वभौमिकताविपरीत कुनै पनि गोप्य सम्झौता वा चलखेल नगर्न सरकारलाई चेतावनी दिइएको छ।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विपक्षी दलका नेतामाथि सरकारले राजनीतिक धरपकड, घेराबन्दी र पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै कार्यशालाले त्यसको विरोध गरेको छ। लोकतान्त्रिक मूल्य–मान्यता र प्रतिपक्षी अधिकारमाथि अंकुश लगाउने प्रयास तत्काल रोक्न सरकारलाई आग्रह गरिएको छ।
न्यायालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक तथा स्वायत्त निकायमाथि राजनीतिक प्रभाव र हस्तक्षेपमार्फत निष्क्रिय बनाउने प्रयासको समेत कार्यशालाले विरोध गरेको छ। पछिल्लो समय मौलाउँदै गएको ‘पपुलिजम’बाट निर्मित संयन्त्र तथा सरकारका जनविरोधी, असंवैधानिक र अराजक गतिविधिको प्रतिवाद गर्ने प्रतिबद्धता जनसंगठनहरूले व्यक्त गरेका छन्।
कार्यशालाले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई मुख्य केन्द्रमा राख्दै बागमती प्रदेशका २३ वटै जनसंगठन संयन्त्रलाई पूर्ण रूपमा सक्रिय र परिचालन गर्ने निर्णय गरेको छ। प्रदेशका १३ वटै जिल्लादेखि पालिका तहसम्म आवासीय कार्यशाला तथा प्रशिक्षण कार्यक्रम विस्तार गर्ने निर्णयसमेत गरिएको छ।
कार्यशालामा ईश्वरी रिजाल, रामशरण प्याकुरेल, वाइपी आचार्य, विशाल भट्टराई र प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुभएकाे थियाे। उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संवाेधन गर्नुभएकाे थियाे । कार्यक्रममा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल तथा केन्द्रीय सदस्यद्वय माधव ढुंगेल र भोला पोखरेलको सहभागिता थियो।
समापन सत्रमा एमाले केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले निर्देशनात्मक मन्तव्य दिनुभएकाे थियाे। प्रमाणपत्र वितरणपछि प्रदेश कमिटी उपसचिव एवं संयन्त्र प्रमुख रमेश आचार्यको अध्यक्षतामा कार्यशाला सम्पन्न भएको थियो।
कार्यशालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मार्गदर्शनलाई संगठन निर्माण र राजनीतिक अभियानको आधार बनाउँदै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेकपा (एमाले) बागमती प्रदेश जनसंगठन समन्वय संयन्त्र कार्यशाला २०८३ द्वारा जारी समसामयिक प्रस्ताव तथा नगरकोट घोषणा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश जनसंगठन संयन्त्रको आयोजनामा मिति २०८३ भाद्र ६ र ७ गते सम्पन्न दुई दिवसीय आवासीय कार्यशालाले देशको वर्तमान राजनीतिक परिस्थिति, जनजीविकाका गम्भीर समस्या, शान्ति-सुरक्षाको स्थिति, राष्ट्रिय स्वाधीनता तथा संगठन सुदृढीकरणका विविध पक्षहरूमा गहन छलफल गर्दै सरकार माथि कडा प्रश्न सहित सर्व सम्मतिबाट देहाय बमोजिमका विस्तृत समसामयिक प्रस्तावहरू पारित गर्दछ:
१. श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीप्रति हार्दिक धन्यवाद तथा आभार: अत्यन्त व्यस्तता र महत्वपूर्ण राजनीतिक जिम्मेवारीका बाबजुद नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले यस दुई दिन आवासीय कार्यशालामा गरिमामय उपस्थित भइ अत्यन्त महत्वपूर्ण, वैचारिक तथा दूरदर्शी मार्गदर्शनका लागि यो कार्यशाला उहाँप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। अध्यक्षज्यूको मार्गदर्शनलाई आगामी दिनमा संगठन निर्माण र राजनीतिक अभियानलाई मुख्य मन्त्रका रूपमा आत्मसात् गर्दै दृढ सङ्कल्प गर्दछौँ।
२. जनजीविकाको सङ्कट र सरकारको उदासिनता सम्बन्धमा:
- खेतीपातीको सिजनमा मलको चरम अभाव: खेतीपातीको मुख्य सिजनमा देशभरका किसानहरूले रासायनिक मल नपाएर हाहाकार मच्चिरहँदा पनि सरकार मूकदर्शक बनेको छ। “कृषिको रूपान्तरणको अर्को कुरा गर्ने सरकारले सिजनमा किसानलाई सामान्य मल समेत किन उपलब्ध गराउन सक्दैन?” सरकारको गैरजिम्मेवारीपन घोर निन्दा गर्दछौँ। तत्काल पर्याप्त मलको व्यवस्था गर्न जोरदार माग गर्दछौँ।
- उपभोक्तामाथि ग्यास र इन्धनको मार: बजारमा खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुहरूको अस्वाभाविक अभाव र मूल्यवृद्धिले आम जनताको भान्सा महँगो र कष्टकर बनेको छ। “जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत वस्तुको सहज आपूर्ति गराउन नसक्ने सरकार कसका लागि काम गरिरहेको छ?” तत्काल सहज आपूर्तिको ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गर्दछौँ।
३. शान्ति-सुरक्षा, महिला तथा बालिका सुरक्षा सम्बन्धमा: बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको दर्दनाक घटना: बारा जिल्लामा ३ वर्षीया अबोध बालिका गरिमा चौधरीको जबरजस्ती करणी र निर्मम हत्याको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको छ। “गृह प्रशासन के हेरेर बसेको छ? हाम्रा घरका नानीबेटीहरू आफ्नै घर-आँगनमा सुरक्षित छन् कि छैनन्?” भन्ने गम्भीर प्रश्न उठाउँदै यो कार्यशाला उक्त जघन्य अपराधको घोर भर्त्सना गर्दछ। दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र देशभरी महिला तथा बालबालिकाको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गर्दछौँ।
४. राष्ट्रिय स्वाधीनता र बाह्य सम्बन्धमा आशंका: प्रधानमन्त्रीको आकस्मिक मुस्ताङ भ्रमण र आशंका: प्रधानमन्त्रीद्वारा पूर्वजानकारी र स्पष्ट उद्देश्यविना गरिएको आकस्मिक मुस्ताङ भ्रमणले देशको भूराजनीतिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उब्जाएको छ। मुस्ताङ क्षेत्रमा रहेको बहुमूल्य खनिज युरेनियम बाह्य शक्ति (अमेरिका) लाई सुम्पिने प्रपञ्च भइरहेको भन्ने जनस्तरमा उठेका गम्भीर आशङ्काहरूप्रति ध्यानाकर्षण गराउँदै यो कार्यशाला सोध्छ— “प्रधानमन्त्रीको भ्रमणको वास्तविक नियत के हो? राष्ट्रिय हित र सार्वभौमिकताविपरीत कुनै पनि गोप्य सम्झौता वा चलखेल भइरहेको त छैन?” राष्ट्रिय हित प्रतिकूल हुने कुनै पनि कदमको कडा प्रतिवाद गर्दै चेतावनी दिन चाहन्छौँ।
५. प्रतिपक्ष र दलका नेताहरूमाथि राजनीतिक धरपकडको भर्त्सना: नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत विपक्षी दलका शीर्ष नेताहरूलाई लक्षित गरी सरकारले गरिरहेको अनावश्यक राजनीतिक धरपकड, घेराबन्दी र पूर्वाग्रहपूर्ण कदमहरूको यो कार्यशाला घोर भर्त्सना गर्दछ। सरकारले आफ्नो असफलता ढाकछोप गर्न लोकतान्त्रिक मूल्य-मान्यता र प्रतिपक्षी अधिकारमाथि अंकुश लगाउन खोज्ने सरकारको यो स्वेच्छाचारी कदमको नियत के हो?” भन्दै राजनीतिक प्रतिशोधका आधारमा गरिने यस्ता सम्पूर्ण गैरकानुनी र अराजक गतिविधिहरू तत्काल रोक्न सरकारलाई चेतावनी दिन चाहन्छौँ।
६. संवैधानिक अङ्गहरूमाथि हस्तक्षेपको प्रतिवाद: न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता राज्यका स्वायत्त र महत्वपूर्ण संवैधानिक अङ्गहरूलाई राजनीतिक प्रभाव एवं हस्तक्षेपमार्फत निष्क्रिय पार्ने असंवैधानिक कार्यको कडा भर्त्सना गर्दछौँ। सँगै, पछिल्लो समय मौलाउँदै गएको सस्ता लोकप्रियताई (पपुलिजम) बाट निर्मित संयन्त्र र सरकारले गर्ने जुनसुकै जनविरोधी, असंवैधानिक र अराजक काम-कारबाहीको एमाले नेतृत्वका जनसंगठनहरूले डटेर प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
७. आगामी निर्वाचनको तयारी, प्रशिक्षण र सांगठनिक कार्यदिशा: आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनलाई मुख्य केन्द्रविन्दुमा राखी बागमती प्रदेशभर पार्टी र जनसंगठनहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन २३ वटै जनसंगठन संयन्त्रलाई पूर्ण रूपमा सक्रिय र परिचालन गर्ने सङ्कल्प गरिन्छ। करिब १६० जना प्रतिनिधिहरूको सहभागितामा सम्पन्न यस कार्यशालामा कमरेड ईश्वरी रिजाल, रामशरण प्याकुरेल, वाइपी आचार्य, विशाल भट्टराई र प्रदीप ज्ञवालीले प्रदान गर्नुभएको प्रशिक्षणको निष्कर्षलाई आत्मसात् गर्दै प्रदेशका सम्पूर्ण १३ वटा जिल्लादेखि पालिका स्तरसम्म यस्तै आवासीय कार्यशाला तथा प्रशिक्षण कार्यक्रमहरू विस्तार गर्ने निर्णय गरियो।
८. नेतृत्वको मार्गदर्शन र समापन: उद्घाटन सत्रमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख कमरेड भानुभक्त ढकाल, प्रदेश अध्यक्ष कमरेड कैलाश ढुगेलको मन्तव्य एवं केन्द्रीय सदस्यद्वय कमरेड माधव ढुगेल र कमरेड भोला पोखरेलको उपस्थितिको उच्च मूल्याङ्कन गरिन्छ। समापन सत्रमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज कमरेड महेश बस्नेतको निर्देशनात्मक मन्तव्य र प्रमाणपत्र वितरण पश्चात्, प्रदेश कमिटी उपसचिव एवं संयन्त्र प्रमुख कमरेड रमेश आचार्यको अध्यक्षता तथा प्रदेश कमिटी सदस्यद्वय कमरेड जय गुरुङ र कमरेड मदन केसीको सञ्चालनमा सम्पन्न यो कार्यशाला पार्टी अध्यक्षज्यूको मार्गदर्शन अनुसार अघि बढ्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध रहने दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ।
२०८३ भाद्र ७ गते
आयोजक: नेकपा (एमाले) बागमती प्रदेश जनसंगठन संयन्त्र














प्रतिक्रिया दिनुहोस्