जनता टाइम्स

८ भाद्र २०८३, सोमबार ०७:३४

हत्या, हिंसा र बलात्कार बढ्नुमा सामाजिक अराजकता र कमजोर राज्य व्यवस्था जिम्मेवार : शंकर पोखरेल


काठमाडौं, भदौ ८ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताउनुभएको छ ।

उहाँले यस्ता घटना सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था तथा २०८२ भदौ २४ गतेको विध्वंसात्मक अराजकताबाट सिर्जित विचलित मनोविज्ञानको परिणाम भएको धारणा व्यक्त गर्नुभएको छ ।

महासचिव पोखरेलले पछिल्लो समय समाजमा आत्महत्याका घटना पनि बढ्दै गएको उल्लेख गर्दै विध्वंसात्मक घटनाले सामाजिक मनोविज्ञानमा गम्भीर असर पारेको बताउनुभएको हो ।

उहाँका अनुसार त्यस्ता विध्वंसकारी घटनाका योजनाकार र दोषीहरूको पहिचान गरी कानुनी दायरामा ल्याएर दण्डित नगरेसम्म समाजमा अपराधीहरू निर्भय हुने र सर्वसाधारण नागरिक भने भय तथा असुरक्षाको अवस्थामा बाँच्नुपर्ने परिस्थिति कायम रहन्छ ।

पोखरेलले समाजमा बढ्दै गएको अपराध र असुरक्षाको अवस्था अन्त्य गर्न दोषीको पहिचान तथा कारबाहीसँगै राज्य व्यवस्था प्रभावकारी र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।