जनता टाइम्स

८ भाद्र २०८३, सोमबार १९:१६

कांग्रेसकाे १५ औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा, असोजको कार्यतालिका स्थगनको माग


काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५ औँ महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।

पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट दायर गरिएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।

यसअघि शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिए पनि केही विषय सच्याउनुपर्ने भन्दै फिर्ता लगिएको थियो । आवश्यक संशोधनसहित सोमबार पुनः रिट दर्ता गरिएको हो ।

देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा प्रदान गरिसकेको अवस्थामा त्यसको अन्तिम टुंगो नलाग्दासम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने तर्क गरेको छ ।

नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, पार्टीको नेतृत्व र महाधिवेशनको प्रक्रियालाई लिएर कांग्रेसभित्र विवाद कायमै छ ।

यसअघि इतर पक्षको भेलाले गगन थापालाई सभापतिका रूपमा स्वीकार नगर्ने र पूर्वसभापति देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही विवादका बीच देउवा पक्ष सर्वोच्च अदालत पुगेपछि कांग्रेसको महाधिवेशन प्रक्रिया थप कानुनी र राजनीतिक विवादमा तानिएको छ ।