जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार ०८:१७

वाग्मतीका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिँदै


काठमाडौं, भदौ ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। सत्ता गठबन्धनभित्रको विवादका कारण सोमबारका लागि तय भएको विश्वासको मतसम्बन्धी बैठक पटक–पटक सर्दै अन्ततः आज दिउँसो ४ बजेका लागि सारिएपछि मुख्यमन्त्री थापामगरले विश्वासको मत लिन लाग्नुभएको हो।

मुख्यमन्त्री थापामगरले सोमबार नै विश्वासको मत लिने कार्यसूची रहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद र नेकपाभित्र मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टिका कारण प्रदेशसभा बैठक बस्न सकेको थिएन। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि साँझ ५ बजे, त्यसपछि राति ८ बजेका लागि सारिएको थियो। तर दुवै समयमा बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले विशेष कारण जनाउँदै बैठक आज दिउँसो ४ बजेका लागि निर्धारण गरेको हो।

विश्वासको मतका लागि राप्रपाको भूमिका निर्णायक देखिएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रको निर्णयविपरीत एमालेका थापामगर नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टीभित्र विवाद चर्किएको हो। राप्रपा केन्द्रले थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्री राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई समेत पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै निष्कासन गर्ने निर्णय गरेको छ। यद्यपि उद्धव थापा पक्षले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन्।

यता सत्ता साझेदार नेकपाभित्र पनि सरकारमा मन्त्री पठाउने विषयलाई लिएर असन्तुष्टि देखिएको छ। मन्त्री बन्ने आकांक्षी तथा सरकारमा प्रतिनिधित्वको विषयमा केही सांसद असन्तुष्ट बनेपछि सोमबारको प्रदेशसभा बैठक प्रभावित भएको बताइएको छ। नेकपा बागमती संसदीय दलले भने आफ्ना सांसदलाई मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिँदै अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिसकेको छ।

एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री नियुक्त हुनुभएका थापामगरका लागि विश्वासको मत लिन सत्ता गठबन्धनभित्रको आन्तरिक विवाद प्रमुख चुनौती बनेको छ। १०४ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी गठबन्धनसँग ५१ सांसद रहेकाले बहुमत पुर्‍याउन राप्रपाको समर्थन आवश्यक देखिएको छ।

यसअघि राप्रपा केन्द्रले बागमती प्रदेश सरकारलाई समर्थन नगर्ने तथा सरकारमा सहभागी नहुने निर्णय गरेको थियो। तर प्रदेश संसदीय दलले भने सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी केन्द्र र प्रदेश संसदीय दलबीचको विवाद सार्वजनिक भएको हो।

दलहरूबीच सहमति जुटाएर मुख्यमन्त्रीलाई विश्वासको मत लिने वातावरण बनाउन सभामुखले समेत दलका नेताहरूसँग छलफल गर्नुभएको थियो। तर सोमबार दिनभर सहमति जुट्न नसकेपछि प्रदेशसभा बैठक आजका लागि सारिएको हो।

अब आज हुने मतदानबाट मुख्यमन्त्री थापामगरले आवश्यक बहुमत जुटाउनुहुन्छ वा हुँदैन भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ। राप्रपाभित्रको विवाद र सत्ता साझेदार नेकपाभित्रको असन्तुष्टिका बीच हुने विश्वासको मतको परिणामले बागमती प्रदेशको आगामी सत्ता समीकरणसमेत निर्धारण गर्ने देखिएको छ।