जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार ११:५४

संसद्को प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साह कालो चस्मामै सहभागी हुने, सभामुखकाे निर्देशन नमान्ने


काठमाडौं, भदौ ९। प्रधानमन्त्री बालेन साह भोलि संसद्मा हुने प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएर सहभागी हुनुहुने भएको छ।

प्रधानमन्त्री साहले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनुभएको र चिकित्सकहरूले केही समय कालो चस्मा लगाउन तथा आवश्यकताअनुसार आई ड्रप प्रयोग गर्न सुझाव दिनुभएको बताइएको छ। आँखाको समस्यासम्बन्धी चिकित्सकीय प्रतिवेदनसहित प्रधानमन्त्री साहले संसद् सचिवालयलाई समेत जानकारी गराइसक्नुभएको बुझिएको छ।

यसअघि सभामुख डिपी अर्यालले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई संसद्मा मर्यादित पोशाकमा उपस्थित हुन निर्देशन दिनुभएको थियोभने कालाे चश्मा प्रतिवन्ध लगाउनु भएकाे थियाे । चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री साहले कालो चस्मा लगाएरै संसद्को प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुहुने तयारी रहेको छ।

भोलि हुने प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहलाई प्रश्न गर्न ११ जना सांसदले नाम टिपाउनुभएको छ। प्रश्न टिपाउने सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन, नेपाली कांग्रेसका दुई, नेकपा एमालेका दुई, नेकपाका दुई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका एक–एक जना सांसद हुनुहुन्छ।

सिट संख्याका आधारमा रास्वपाका सात जना सांसदले प्रश्न गर्न पाउने भए पनि हालसम्म तीन जना सांसदले मात्रै प्रश्न टिपाउनुभएको बताइएको छ।

प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई संसद्को नियमित कार्यसूचीअन्तर्गत महत्त्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। यस अघि संसद बैठकमा जान नमान्ने प्रधानमन्त्री भाेलि सांसदहरुले साेधेकाे प्रश्नकाे जवाफ दिन जानुहुने भएकाे छ । सभामुखले प्रधानमन्त्रीलाई सांसदहरुले साेधेकाे प्रश्नकाे जवाफ दिन संसदमा उपस्थित हुन रुलिङ गर्नु भएकाे थियाे ।