काठमाडौं, भदौ ९। वाग्मती प्रदेश सरकारमा सहभागी भएका राप्रपाका मन्त्रीहरूलाई कारबाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएपछि राप्रपा नेता कमल थापाले त्यसप्रति प्रश्न उठाउनुभएको छ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ ४ गतेपछि नबसेको अवस्थामा मन्त्रीहरूलाई कारबाही गर्ने निर्णय कसरी आयो भन्नेमा आफू आश्चर्यचकित भएको नेता थापाले बताउनुभएको छ। सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, “गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन, यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु।”
कारबाहीसम्बन्धी पत्रमा बैठक बसेको मिति उल्लेख नभएको भन्दै उहाँले उक्त पत्रको आधिकारिकतामाथि समेत प्रश्न उठाउनुभएको छ। उहाँले भन्नुभएको छ, “यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ।”
वाग्मती प्रदेश सरकारमा सहभागी भएका राप्रपाका मन्त्रीहरूलाई पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको विषय सार्वजनिक भएपछि नेता थापाको यस्तो धारणा आएको हो। उहाँले यस्तो निर्णय सत्य नहोस् भन्ने अपेक्षा व्यक्त गर्दै भन्नुभएको छ, “यो सत्य नहोस्।”
मन्त्रीहरूलाई गरिएको भनिएको कारबाही र त्यसको प्रक्रियालाई लिएर राप्रपाभित्रै फरक–फरक धारणा सार्वजनिक हुन थालेपछि वाग्मती प्रदेशको सत्ता समीकरणसँगै राप्रपाको आन्तरिक विवादसमेत थप चर्किएको छ ।














प्रतिक्रिया दिनुहोस्