ओखलढुंगा, भदौ १० । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
मंगलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोले बनेको र खरको छानो भएको दुईतले घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ । प्रहरीका अनुसार उक्त घटनाबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै, ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्