जनता टाइम्स

१० भाद्र २०८३, बुधबार ११:१९

भोटेकोशीमा इतिहासकै विनाशकारी बाढी, रसुवा र नुवाकाेटका दर्जनौँ बस्ती र बजार बगे


काठमाडौं, भदौ १०। तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले रसुवाको भोटेकोशी नदी आसपासको तटीय क्षेत्रमा ठूलो विनाश गरेको छ। बाढीले दर्जनौँ बस्ती तथा बजार बगाएको र ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरण आएको छ।

रसुवा प्रहरीले बाढीपछि जिल्लाका विभिन्न क्षेत्रमा सम्पर्क स्थापित गर्न कठिन भइरहेको जनाएको छ। नदी तटीय क्षेत्रमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीसमेत सम्पर्कविहीन भएको बताइएको छ।

बिहान करिब ९ बजे रसुवाको टिमुरे बजारमा अचानक बाढी आएको थियो। पूर्वसूचनाबिनै तीव्र गतिमा तुफानी बाढी आएका कारण स्थानीयले सुरक्षित स्थानमा जाने समयसमेत नपाएको र ठूलो संख्यामा मानिस प्रभावित भएको अनुमान गरिएको छ। टिमुरे बजारसहित आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ।

बाढीका कारण जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्ड गएका हजारौँ दर्शनार्थीसमेत सम्पर्कविहीन भएको बताइएको छ। जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा विशेष मेला लाग्ने भएकाले यो समयमा ठूलो संख्यामा धार्मिक पर्यटक त्यहाँ पुग्ने गरेका छन्।

भोटेकोशीको बाढी रसुवा र नुवाकोट हुँदै धादिङका तटीय क्षेत्रसम्म फैलिएको छ। त्रिशूली नदीसँग जोडिएका सबै तटीय क्षेत्र उच्च जोखिममा रहेको भन्दै सम्बन्धित निकायले तत्काल सतर्कता अपनाउन आग्रह गरेका छन्।

बाढीको असर चितवनको भरतपुरसम्म पुग्न सक्ने आकलन गर्दै बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित प्रभावित क्षेत्रका करिडोर सडकमा आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ। जोखिम बढेपछि दुवैतर्फबाट सवारी आवागमनसमेत रोकिएको छ।

यसैबीच, रसुवामा बाढीपहिरोबाट ठूलो क्षति भएपछि प्रधानमन्त्री बालेन्द्र साहले विपद् परिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। उद्धार तथा राहतको योजना बनाउन सरकारी संयन्त्र सक्रिय भएका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उद्धारमा परिचालन गरिएको छ। विपद् व्यवस्थापन प्राधिकरण पनि सक्रिय भएको छ। सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।