काठमाडौँ, भदौ १० । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतको काम अघि बढाएका छन् ।
सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टोलीसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ । निजी क्षेत्रका हेलिकप्टरलाई समेत उद्धार तथा खोज कार्यका लागि तयारी अवस्थामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ ।
यसअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो ।
यता, गृह मन्त्रालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जिल्ला प्रशासन कार्यालयलगायतका निकायले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन् ।














प्रतिक्रिया दिनुहोस्