काठमाडौं, भदौ १०। रसुवाको भोटेकोसीमा बुधबार बिहान आएको आकस्मिक तुफानी बाढीले जिल्लाका दुई ठूला बजारसहित नदी किनारका बस्ती, जलविद्युत आयोजना, पुल तथा विद्युत् संरचनामा अकल्पनीय क्षति पुर्याएको छ। बाढीमा परी हजारौँ मानिस र सयौँ घर बगेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण निकाल्नसमेत कठिन भइरहेको स्थानीय प्रशासनले जनाएको छ। बाढी अत्यन्तै अप्रत्याशित र तीव्र गतिमा आएकाले धेरै स्थानीयलाई सुरक्षित स्थानमा जाने अवसरसमेत नपाएको बताइएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बिहान ८ः५० बजे भोटेकोसीमा आएको बाढीले गोसाईंकुण्ड गाउँपालिकाका टिमुरे र स्याफ्रुबेसी बजारमा ठुलो क्षति पुर्याएको छ। आमाछोदिङ्मो गाउँपालिकाको हाकुबेसी तथा उत्तरगया गाउँपालिकाका वडा नं. ४ र ५ समेत बाढीबाट प्रभावित भएका छन्। “रसुवाको अवस्था कहालीलाग्दो छ, बाढी अकल्पनीय रूपमा आएको हुँदा स्थानीयलाई सुरक्षित स्थानमा जाने अवसर नै मिलेन, दुईवटा ठूला बजार नै कोल्याप्स भएका छन्,” सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो।
उहाँका अनुसार बाढीको सतह विगतमा नदी बग्ने सतहभन्दा करिब २ सय मिटर माथिसम्म पुगेको थियो। गोसाईंकुण्ड तथा कैलाश मानसरोवर जाने मुख्य सिजन भएकाले नदी किनारमा ठुलो सङ्ख्यामा मानिसको आवागमन रहेको र निर्माणाधीन जलविद्युत आयोजनामा समेत ठुलो सङ्ख्यामा कामदार रहेकाले मानवीय क्षति ठुलो हुनसक्ने प्रशासनको प्रारम्भिक आङ्कलन छ। ‘हामीले सोचेभन्दा पनि बढी क्षति भएको छ’, उहाँले भन्नुभयो ।
स्थानीयका अनुसार बाढी आएपछि प्रभावकारी उद्धार हुन सकेको छैन। कतिपय मानिस घर तथा अन्य संरचनाबाट उद्धारका लागि हात हल्लाइरहेको देखिए पनि तत्काल उद्धार हुन नसकेको स्थानीयको गुनासो छ। “यहाँ घाम लागिरहेको छ, हेलिकप्टर आउन सक्ने अवस्था छ, तत्काल उद्धार गर्दा धेरै मानिसको ज्यान जोगाउन सकिन्थ्यो, तर राज्यको उपस्थिति नै छैन,” स्थानीयले गुनासो गर्नुभयो ।
आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले सो गाउँपालिकाको वडा नं. १ अन्तर्गत हाकुबेसी र आसपासका क्षेत्रमा ठुलो क्षति भएको बताउनुभयो। उहाँका अनुसार उक्त क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत धेरै कामदार बाढीमा परेको आशङ्का छ।
कतिपय मानिस घर तथा अन्य संरचनाबाट उद्धारका लागि हात हल्लाइरहेको देखिए पनि तत्काल उद्धार हुन नसकेको स्थानीयको गुनासो छ। “यहाँ घाम लागिरहेको छ, हेलिकप्टर आउन सक्ने अवस्था छ, तत्काल उद्धार गर्दा धेरै मानिसको ज्यान जोगाउन सकिन्थ्यो, तर राज्यको उपस्थिति नै छैन,” स्थानीयले गुनासो गर्नुभयो ।
“आयोजनामा मात्रै पाँच सयभन्दा बढी कामदार काम गरिरहेका थिए। क्षतिको विवरण निकाल्नै धेरै समय लाग्ने अवस्था छ, अकल्पनीय रूपमा बाढी आएकाले कसरी उद्धार तथा राहत अघि बढाउने भन्नेमा सबै अलमलमा छन्,” अध्यक्ष तामाङले बताउनुभयो।
बाढीको असर रसुवामा मात्र सीमित नभई नुवाकोट र धादिङका केही क्षेत्रमा समेत परेको छ। भोटेकोसी र त्रिशूली नदी आसपासका बस्ती, पुल, विद्युत्का टावर तथा विद्युत् गृहमा समेत ठुलो क्षति पुगेको बताइएको छ। बाढीको असर चितवनसम्म पुग्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रसमेत जोखिममा परेको छ।
यसैबिच, नेपाल–तिब्बत सीमा नजिकै तिब्बतको लेन्दे क्षेत्रमा बुधबार बिहान भूकम्प गएको विवरण आएको छ। नेपाली समयअनुसार बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ। भूकम्पपछि कुनै ठुलो हिमताल फुटेर आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
तिब्बततर्फबाट आएको बाढी करिब ९ बजे रसुवाको टिमुरे पुगेको थियो। अत्यन्तै तीव्र गतिमा आएको बाढीले छोटो समयमै ठुलो क्षेत्रमा विनाश मच्चाएको हो। बाढीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन। उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढाउन नसकिए क्षतिको परिमाण अझै बढ्न सक्ने अवस्था छ ।
बाढीले रसुवागढी, चिलिमे, त्रिशूली ३ ‘ए’ र ‘बी’ हब सवस्टेसन, देवीघाट जलविद्युत केन्द्र लगायतका ठूला जलविद्युत केन्द्र तथा सवस्टेसनहरूमा क्षति पुगेको छ । यसले राष्ट्रिय प्रसारणमा समेत क्षति पुग्ने देखिन्छ ।














प्रतिक्रिया दिनुहोस्