जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १२:३९

रसुवा बाढीप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त, उद्धार राहतमा खट्न पार्टी पङ्तिलाई निर्देशन 


काठमाडौं, भदौ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा भोटेकोसी नदीमा आएको बाढीबाट ठुलो क्षति भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले बाढीका कारण भोटेकोसी र त्रिशूली नदीमा पानीको बहाव बढेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न अपिल गर्नुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत विपद्को यस घडीमा पार्टीका नेता, कार्यकर्ता, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह गर्नुभएको हो। उहाँले भन्नुभएको छ, “बाढीका कारण रसुवाको भोटेकोसी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ, रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न हार्दिक अपिल गर्दछु।”

अध्यक्ष ओलीले पार्टी, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न निर्देशनसमेत दिनुभएको छ। “पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।