जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १२:५९

विपद्को समयमा अफवाह नफैलाउन र उद्धारमा जुट्न रास्वपा सभापति रवि लामिछानेको अपिल


काठमाडौं, भदौ १०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीबाट उत्पन्न विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गर्नुभएको छ।

सभापति लामिछानेले विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको छ। उहाँले विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गर्नुभएको छ। “यस संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाऔँ, एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्छ,” लामिछानेले अपिलमा भन्नुभएको छ।

उहाँले रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभएको छ।

सभापति लामिछानेले विपद्को यस घडीमा सबैको एउटै प्राथमिकता नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग हुनुपर्ने बताउनुभएको छ। “प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न हार्दिक अपिल गर्दछु,” उहाँले भन्नुभएको छ।