जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १३:१५

भोटेकोशी बाढीपछि उद्धारमा सबै साधन-श्राेत परिचालन गर्ने सरकारको निर्णय  


काठमाडौं, भदौ १०। रसुवामा आएको भीषण भोटेकोशी बाढीपछि सरकारले प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन उपलब्ध सबै साधन–स्रोत परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, खोजी तथा राहतलाई प्राथमिकतामा राख्दै आवश्यक सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ। हालसम्म उद्धारका लागि आठ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी बैठकमा गराइएको छ।

प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहत कार्यमा खटिन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ। उहाँले नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर समन्वयात्मक रूपमा काम गर्न आग्रह गर्नुभएको छ।

तत्काल उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ। घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ।

यसैगरी, उपचारका लागि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ अस्पतालमा १०० शय्या र स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ। उद्धार तथा सुरक्षाका लागि थप सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। 

दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लाटुन सुरक्षाकर्मीलाई काठमाडौंस्थित विमानस्थलमा तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरी बलको २० नम्बर विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको टोली नुवाकोटतर्फ पठाइएको छ।

सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १/१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम पठाउने प्रक्रिया अघि बढाइएको छ। विपद्को अवस्थालाई थप मूल्यांकन गरी आवश्यक अन्य निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिने जनाइएको छ।