जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १३:४५

भोटेकोशी बाढीमा बेपत्ताहरूको शव भेटिन थाल्यो : नुवाकोट र धादिङमा ७ शव फेला


काठमाडौं, भदौ १०। रसुवाको भोटेकोशीमा आज बिहान आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूको शव नदी किनारका विभिन्न क्षेत्रमा भेटिन थालेका छन्। बागमती प्रदेश प्रहरीले हालसम्म ७ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार नुवाकोटमा ३ जना र धादिङमा ४ जनाको शव फेला परेको हो। बाढीले बगाएर ल्याएका शव नदी किनारका विभिन्न स्थानमा फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परेर घाइते भएकाहरूको उद्धार तथा उपचारका लागि पठाउने कामसमेत जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

सुरक्षाकर्मीले बाढीमा बेपत्ता तथा प्रभावित व्यक्तिको खोजीलाई तीव्रता दिँदै फेला परेका शव संकलन गर्ने कामसमेत गरिरहेका छन्। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।