काठमाडौं, भदौ १०। रसुवामा बुधबार बिहान आएको भीषण बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडी तथा अन्य सामग्रीमा ठूलो क्षति पुर्याएको छ। बाढीमा परी भन्सार कार्यालयका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् ।
रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार अझै पाँच जना कर्मचारी सम्पर्कमा आएका छैनन् । उहाँका अनुसार बाँकी कर्मचारी भने टिमुरे बजारभन्दा माथिको डाँडामा सुरक्षित स्थानमा बसेर उद्धारको प्रतीक्षामा हुनुहुन्छ।
रसुवा भन्सार कार्यालयमा हाल ३६ जना स्थायी र चार जना करारका कर्मचारी कार्यरत रहेको जनाइएको छ। सम्पर्कविहीन कर्मचारीको खोजी तथा बाँकी कर्मचारीको उद्धारका लागि सम्बन्धित निकायले प्रयास गरिरहेको छ।
बाढीले भन्सार यार्डमा चेकजाँचका लागि राखिएका विद्युतीय गाडी तथा ढुवानी ट्रक गरी तीन सयभन्दा बढी गाडी बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। भन्सार कार्यालयमा चेकजाँचका क्रममा रहेका अन्य गाडीसमेत बाढीले बगाएको बताइएको छ। क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन।
भन्सार कार्यालयमा रहेका अन्य सामग्रीमा समेत बाढीले क्षति पुर्याएको छ। बाढीका कारण कार्यालयको भौतिक संरचना तथा यार्डमा समेत ठूलो क्षति भएको प्रारम्भिक विवरण छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार बाढीबाट रसुवा भन्सार कार्यालयमा भएको क्षतिको विस्तृत विवरण अझै प्राप्त भइसकेको छैन।














प्रतिक्रिया दिनुहोस्