काठमाडौं, भदौ १०। रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको अकल्पनीय भीषण बाढी र त्यसबाट भएको ठूलो जनधनको क्षति प्रतिनिधिसभा बैठकको मुख्य विषय बनेको छ। बैठकमा विशेष समय लिएर बोल्ने सबै सांसदले भोटेकोशी बाढीबाट भएको क्षतिको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सांसदहरूले आफूहरूलाई प्राप्त भएको क्षतिको विवरण प्रस्तुत गर्दै बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचार र विस्थापित नागरिकको पुनर्वासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नुभएको छ।
राज्यका संयन्त्र उद्धार तथा राहतका लागि परिचालित भए पनि विपद्को गम्भीरताअनुसार उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गर्नुभएको छ। उहाँहरूले प्रभावित क्षेत्रमा तत्काल आवश्यक जनशक्ति, साधन–स्रोत र सुरक्षा संयन्त्र परिचालन गर्न माग गर्नुभएको छ।
सांसदहरूले बाढीमा हराइरहेका नागरिकको खोजी कार्यलाई तीव्रता दिन, घाइतेहरूको तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्न तथा घरबारविहीन भएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण र पुनर्वासको प्रबन्ध गर्न आग्रह गर्नुभएको छ।
विपक्षी दलका सांसदसँगै सत्तारूढ दलका सांसदहरूले समेत विपद् व्यवस्थापनमा सरकारको तयारी र उद्धार कार्यको गति प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बुधबार बिहान भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीमा परी कैयौँ मानिस बेपत्ता भएको तथा सयौँ घरसहित विभिन्न भौतिक संरचना र धनमालमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीको प्रभाव धादिङसम्म पुगेको छ। भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्ती र संरचनामा क्षति पुगेपछि तल्लो तटीय क्षेत्रसमेत जोखिममा रहेको भन्दै सांसदहरूले सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्