जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १५:०४

भोटेकोशी बाढीपछि गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष र एक वडाध्यक्ष पनि सम्पर्कविहीन


काठमाडौं, भदौ १०। भोटेकोशी बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार तामाङ सम्पर्कविहीन हुनुभएको छ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार दुवै जना बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको हो। बाढी आएपछि दुवै जनाको फोनमा सम्पर्क हुन नसकेको र अहिले फोनसमेत स्वीच अफ रहेको उहाँले जानकारी दिनुभयो।

उपाध्यक्ष तामाङको घरसमेत बाढीले बगाएको क्षेत्रमा रहेकाे छ। उहाँको घर गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेसीमा पर्दछ ।

अध्यक्ष तामाङका अनुसार गाउँपालिकाको वडा नम्बर २ अन्तर्गत सुवागढी–टिमुरे तथा वडा नम्बर ५ को स्याफ्रुबेसी क्षेत्रमा ठूलो संख्यामा स्थानीय बासिन्दा बेपत्ता भएको सूचना गाउँपालिकामा आइरहेको छ। “बेपत्ता भएका नागरिकको संख्या टिप्नसमेत भ्याइनभ्याइ भएको छ, वडा नम्बर २ र ५ का तटीय क्षेत्रका धेरै बासिन्दा बेपत्ता भएको सूचना आइरहेको छ,” अध्यक्ष तामाङले बताउनुभयो।

बाढीले गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय भवनसमेत बगाएको छ। तटीय क्षेत्रमा रहेका अधिकांश घर तथा संरचना बाढीले बगाएको र कुनै पनि घर बाँकी नरहेको गाउँपालिकाले जनाएको छ।

बाढीपछि गाउँपालिकामा बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि विवरण संकलन गर्ने काम भइरहेको छ। ठूलो क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने बताइएको छ।