काठमाडौं, भदौ १०। रसुवामा आएको भीषण बाढीपहिरोबाट प्रभावित तथा घाइते नागरिकको उद्धार र उपचारलाई तीव्रता दिन बागमती प्रदेश सरकारले विभिन्न अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
मुख्यमन्त्री किरण थापा मगरको निर्देशनमा प्रदेशअन्तर्गतका अस्पतालबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीसहितका टोली रसुवा र त्रिशूली क्षेत्रमा पठाइएको हो। प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजनमा प्रदेशका विभिन्न अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन गरिएको जनाइएको छ।
भक्तपुर अस्पतालबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदीको नेतृत्वमा आकस्मिक स्वास्थ्य टोली रसुवातर्फ प्रस्थान गरेको छ। टोलीमा जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आईटी इन्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोखरेल सहभागी हुनुहुन्छ।
“दुर्गम क्षेत्र होस् वा विपद्को कठिन परिस्थिति-हरेक घाइतेसम्म समयमै स्वास्थ्य सेवा पुर्याउन बागमती प्रदेश सरकार प्रतिबद्ध छ, उद्धार रोकिने छैन, उपचार रोकिने छैन, नागरिकको जीवनरक्षाको अभियान रोकिने छैन, मानव जीवनभन्दा ठूलो कुनै प्राथमिकता छैन,” मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ।
त्यसैगरी, टोखा चण्डेश्वरी अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्काको नेतृत्वमा स्वास्थ्य टोली त्रिशूलीतर्फ परिचालन गरिएको छ। टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक संगिता छत्कुली, स्टोर किपर लीलाबहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना र चालक उत्तरकुमार गुरुङ हुनुहुन्छ।
बज्रबाराही अस्पतालबाट पनि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कसिन नेपालीको नेतृत्वमा आकस्मिक स्वास्थ्य टोली परिचालन भएको छ। टोलीमा मेडिकल अधिकृत डा. आयुषजंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सण्डिला महत सहभागी हुनुहुन्छ।
प्रदेश सरकारले अन्य प्रादेशिक अस्पतालबाट समेत स्वास्थ्यकर्मी परिचालनको तयारी गरिरहेको छ। प्रदेशअन्तर्गतका सम्पूर्ण अस्पताललाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
त्रिशूली र रसुवा अस्पतालमा घाइतेको उपचार
बाढीपहिरोबाट घाइते भएका नागरिकको उपचार तथा उद्धार कार्य निरन्तर भइरहेको प्रदेश सरकारले जनाएको छ। हालसम्म त्रिशूली अस्पतालमा २२ जना, रसुवा अस्पतालमा १४ जना तथा आयुर्वेदिक अस्पताल, त्रिशूलीमा ८ जना घाइतेको उपचार भइरहेको जनाइएको छ।
त्यसैगरी, टिमुरे भन्सार क्षेत्रबाट हेलिकप्टरमार्फत घाइतेको उद्धार गरी थप उपचारका लागि रेफर गर्ने कार्यसमेत जारी छ। हालसम्म राजेन्द्र भट्ट, बलबहादुर घर्ती, एन्जल पौडेल, प्रदीप चन्द्र, राजकुमार खड्का र भूपेन्द्र भुजेललाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पठाइएको जनाइएको छ।
मुख्यमन्त्री किरण थापा मगरले विपद्को समयमा नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ। “दुर्गम क्षेत्र होस् वा विपद्को कठिन परिस्थिति-हरेक घाइतेसम्म समयमै स्वास्थ्य सेवा पुर्याउन बागमती प्रदेश सरकार प्रतिबद्ध छ, उद्धार रोकिने छैन, उपचार रोकिने छैन, नागरिकको जीवनरक्षाको अभियान रोकिने छैन, मानव जीवनभन्दा ठूलो कुनै प्राथमिकता छैन,” मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ।
यसअघि रसुवामा गएको भीषण बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहत व्यवस्थापन र थप जोखिम न्यूनीकरणका विषयमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो।
प्रदेश सरकारले प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा अन्य आवश्यक संयन्त्रबीच समन्वय बढाएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्