नुवाकोट, भदौ १० । नुवाकोटमा रहेको त्रिभुवन त्रिशूली माविका विद्यार्थी सबै सुरक्षित रहेको प्रधानअध्यापकले जानकारी दिनुभएकाे छ।
भोटेकोशी बाढीको चपेटामा परेको सो विद्यालयमा १४ सय ४३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयबाट भागेका कयौँ विद्यार्थीहरु सम्पर्कविहिन बनेका छन् । उक्त विद्यालयमा १६४३ विद्यार्थीहरू अध्ययनरत छन् ।
आज बिहान विद्यालयमा दैनिक प्रार्थना भइसकेपछि बाढीको सूचना आएको थियो । त्यसपछि विद्यार्थीहरू सबैलाई निकालेर विद्यालय खाली गरिएको प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयाे । ‘सबै विद्यार्थीहरु निस्किएपश्चात सबैभन्दा पछि म भागेको हुँ,’ प्रधानअध्यापक दवाडीले भन्नुभयो ।
तर विद्यालयबाट भागेका अधिकांश विद्यार्थी को कता गए भन्ने आफूलाई एकिन नभएको उहाँको भनाइ छ । ‘कोही आफन्तकहाँ गए होला । कोही माथितिर गए । विद्यालयको बसमा एक लट विद्यार्थीलाई हामीले खोला पारी तार्यौँ । कतिपय आफैँ भागे,’ दवाडीले भन्नुभयो ।
विद्यालयका करिब ७० जना विद्यार्थीहरु मात्र अहिले आफूसित रहेको जानकारी पनि उहाँले दिनुभयो । उनीहरू अधिकांश गर्ल्स होस्टेलका हुन ।
विद्यार्थी र स्टाफहरूलाई लिएर आफू सुरक्षित ठाउँमा बसिरहेको जानकारीसहित उहाँले भन्नुभयो, ‘हामी यो कोलोनीको ‘पास्टर’ भन्ने ठाउँमा बसेका छौँ । अब यहाँ केही सम्पर्क छैन, खान दिने व्यवस्था नभएर कसरी खुवाउन सकिन्छ भनेर हेरिरहेका छौँ।’














प्रतिक्रिया दिनुहोस्