काठमाडौं, भदौ १० । भोटेकोशी नदीमा आज आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
बुधबार बिहान ८:४० बजे आएको भीषण बाढीका कारण साँझ ७:०० बजेसम्म ९५ जनाको शव फेला परेको छ भने मृतक सबैकाे सनाखत हुन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बाढीका कारण उल्लेख्य सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकाे लागि खटिएका खटिएका नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना गरी कुल ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
यसै गरी ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटक तथा जलविद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी समेत सम्पर्कविहीन रहेका छन्। रसुवागढी भन्सार र अध्यागमन कार्यालयका कर्मचारीहरू पनि बेपत्ता भएका छन्। नदी तटिय क्षेत्रका कयाैँ मानिसहरु बेपत्ता छन् । उनीहरुकाे विवरण संकलन भइरहकाे सरकारले जनाएकाे छ ।
भौतिक संरचनातर्फ बाढीले १९ वटा मोटरेबल पुल र ४० किलोमिटर पक्की सडकमा क्षति पुर्याएको छ। नदी तटीय क्षेत्रका बजार र गाउँ नै बगाएकाे छ ।
सरकारले उद्धार र राहत कार्यका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरेको छ। बाढीबाट घाइते भएका ३६ जनाको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ भने २१ जनाको रसुवा अस्पतालमा उपचार भइरहेको छ। ट्रमा सेन्टर र वीर अस्पतालमा घाइतेको निःशुल्क उपचारका लागि डेडिकेटेड शय्या छुट्याइएको छ।
आपत्कालीन सहायताका लागि सरकारले टोल फ्री नम्बर १२३४/१००/११११ सञ्चालनमा ल्याएको छ।

















प्रतिक्रिया दिनुहोस्