जनता टाइम्स

१० भाद्र २०८३, बुधबार २१:११

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत


काठमाडौं, भदौ १० । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक तथा पहिचान नखुलेका २० जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जना, धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको छ।

त्यस्तै, गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव फेला परेको प्रहरीले जनाएको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक तथा पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ।

तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक तथा नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकाको शव फेला परेको छ।

६३ जना उपचाररत

बाढीमा परी घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

२८ प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीका अनुसार बाढीपछि २८ जना प्रहरी सम्पर्कविहीन छन्। टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५ तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन प्रहरीको खोजी तथा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।