जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार ०७:५४

भोटेकोशी बाढीको क्षति र उद्धारबारे छलफल गर्न  रास्वपा सभापति रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं, भदौ ११ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गरिनुका साथै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका साथै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ।

बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि सरकार र राजनीतिक दलहरूले समन्वयात्मक रूपमा अघि बढ्नुपर्नेमा बैठकले जोड दिने अपेक्षा गरिएको छ।