काठमाडाैं, भदौ ११ । हिजो रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि खोज तथा उद्धारका क्रममा हालसम्म १६२ जनाकाे शव फेला परेको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी नेपाली सेना तथा सशस्त्र प्रहरी ठुलो सङ्ख्यामा परिचालित छन् । बेपत्ताको खोजी र उद्धारको काम जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार बाढी पछि खोजका क्रममा विभिन्न जिल्लामा १६२ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा १, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जना रहेका छन्।
रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरीमध्ये केही सम्पर्कमा आए पनि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा ३ हजार ३९५ जना प्रहरी परिचालन गरिएको छ।
विवरणअनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्। प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना, प्रहरी चौकी स्याफ्रुबेंसीमा कार्यरत ८ जनामध्ये ५ जना, अस्थायी प्रहरी पोष्ट मैलुङमा कार्यरत ३ जना तथा प्रहरी चौकी बेत्रावती र हाकुमा कार्यरत क्रमशः २ र ५ जना प्रहरी सम्पर्कमा आएका छन् । अन्य प्रहरी सम्पर्कमा आउन सकेका छैनन् ।
बाढी तथा अन्य विपद्का घटनामा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचाररत घाइतेमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा ९ जना, ग्राण्ड सिटी अस्पतालमा एक जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा एक जना रहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी, घाइतेको उद्धार तथा प्रभावित नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर अभियान जारी राखेको जनाएको छ। प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्दै खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्