जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार ०८:३०

भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १८ करोड ९६ लाख सहयोग गर्ने


काठमाडौं, भदौ ११ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ।

आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालन भई खोज, उद्धार तथा राहत वितरणमा जुटिसकेको जनाएको छ। महासङ्घले विपद् प्रतिकार्यका लागि निरन्तर सक्रिय रहनसमेत आग्रह गरेको छ।

आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभएको छ।

महासचिव चापागाईंले सामाजिक सञ्जालमार्फत आइएफआरसी नेपाल रेडक्रस तथा राष्ट्रिय निकायहरूसँगको समन्वयमा आवश्यकताअनुसार समुदायका लागि थप सहयोग परिचालन गर्न तयार रहेको बताउनुभएको छ। उहाँले मानवीय सहयोग निरन्तर जारी रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार रेडक्रसका स्वयंसेवकहरू प्रभावित समुदायमा सक्रिय रहनुभएको छ। स्वयंसेवकहरूले प्रारम्भिक राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहनुभएको छ।

महासचिव चापागाईंले बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै नागरिक बेपत्ता हुनुभएको र भौतिक संरचनामा समेत क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले बाढीबाट प्रभावित तथा ज्यान गुमाउनुभएका नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।