जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १५:११

भोटेकोशी बाढीमा सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन


काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको विनाशकारी बाढीका कारण विभिन्न कामको सिलसिलामा रसुवा पुगेका सिन्धुपाल्चोकका २२४ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै विभिन्न माध्यमबाट सूचना प्राप्त भइरहेको छ। यद्यपि, सम्पर्कविहीन भनिएका केही व्यक्ति भने क्रमशः सम्पर्कमा आउने क्रमसमेत जारी रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार हेलम्बु गाउँपालिकाका ४ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ५ जना, चौतारा साँगाचोकगढी नगरपालिकाका १४ जना, सुनकोशी गाउँपालिकाका १४ जना, इन्द्रावती गाउँपालिकाका १ जना, जुगल गाउँपालिकाका १७ जना, लिसङ्खुपाखर गाउँपालिकाका ३ जना, बलेफी गाउँपालिकाका २९ जना, भोटेकोशी गाउँपालिकाका ६५ जना, मेलम्ची नगरपालिकाका १५ जना र बाह्रबिसे नगरपालिकाका ५७ जना सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारका लागि गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग निरन्तर पत्राचार तथा समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो।

बाढी प्रभावित क्षेत्र तथा आफ्ना आफन्तको अवस्थाबारे थप जानकारी लिन वा आवश्यक समन्वय गर्न जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र सिन्धुपाल्चोकको सम्पर्क नम्बर १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

सम्पर्कविहीन भनिएका व्यक्तिहरूको खोजी तथा अवस्थाबारे यकिन गर्ने कार्य जारी रहेकाले प्राप्त विवरणमा आवश्यकताअनुसार थपघट हुन सक्ने प्रशासनले जनाएको छ।