जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १५:३९

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किए प्रधानमन्त्री बालेन, मुख्यमन्त्री किरण फिल्डमै खटिए


काठमाडौं, भदाै ११। प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।

प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएको थियो। उहाँले बाढी प्रभावित बस्तीहरूको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको थियो।

रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आउनुभएको थियो। त्यसैक्रममा उहाँले आज विदुर र आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष निरीक्षण गर्नुभएको हो।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालसहितको टोलीले बाढीबाट भएको भौतिक क्षतिको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग छलफल गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। स्थलगत निरीक्षण तथा आवश्यक निर्देशन दिएपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको छ।

प्रधानमन्त्री शाह निरीक्षणपछि काठमाडौं फर्कनु भएको छ ।

यता बागमत प्रदेशका मुख्यमन्त्री किरण थापा भने फिल्डमै खटिएर पीडितको खोजी, उद्धार र राहतको कामको नेतृत्व गर्दै जुट्नुभएको छ । मुख्यमन्त्री थापाले बागमती प्रदेशका सबै संयन्त्र प्रयोग गरी आवश्यक समन्वयनको कामसमेत गरिरहनु भएकाे छ ।