जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार १६:५५

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ३ सय नाघ्यो


काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ । अहिलेसम्म प्राप्त बिवरणअनुसार बाढीमा परी बेपत्ता भएकामध्ये आठ जिल्लाबाट तीन सय जनाभन्दा बढीको शव फेला परेको हो ।

खोजी तथा उद्धार कार्य जारी रहेको र सम्पर्कबिहीनहको अवस्था अज्ञात नै रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान सुरक्षा निकायले गरेको छ । हालसम्मको विवरण अनुसार चितवनमा सबैभन्दा धेरै शव फेला परेको छ।

चितवन प्रहरीका अनुसार हालसम्म १२१ जनाको शव फेला परेको छ । त्यसैगरी पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, नुवाकोटमा १२ र रसुवामा ३ जनाको शव फेला परेको छ ।

बाढीले रसुवासहित त्रिशूली नदी आसपासका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ भने ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन रहेका छन् । पछिल्लो विवरणअनुसार सुरक्षाकर्मी तथा पर्यटकसहित सयौँ मानिस सम्पर्कविहीन रहेको जनाइएको छ ।

बाढीमा परी बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय तहको संयुक्त टोली परिचालन गरिएको छ । यस्तै राजनीतिक दलका बिपद ब्यवस्थापन टोली, रेडक्रससमेत खटाएर नदी किनार तथा प्रभावित क्षेत्रमा खोजी कार्यलाई तीव्र पारिएको छ ।

भोटेकोशी बाढीबाट सडक, पुल, विद्युत् संरचना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको प्रारम्भिक विवरण छ ।