जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार ०६:३४

माथिल्लो त्रिशूली सुरुङभित्र फसेका ३५० जनाको सकुशल उद्धार, १०० भन्दा बढीको खोजी जारी


काठमाडौं, भदौ १२ । रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयवासीको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुरुङभित्र मानिसहरू फसेको खबर आएपछि सेनाले चुनौतीपूर्ण अवस्थामा उद्धार अभियान सञ्चालन गरेको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार सेनाको टोलीले सुरुङभित्र फसेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको हो।

सुरुङभित्र अझै १०० जनाभन्दा बढी व्यक्ति फसेको अनुमान गरिएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य नेपाली सेनाले निरन्तरता दिइरहेको जनाएको छ।

बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा नेपाली सेनाको विपद् उद्धार टोली परिचालन गरिएको छ। सेनाका अनुसार बिहीबार मात्रै प्रभावित क्षेत्रबाट ८८३ जना स्थानीयवासी तथा मजदुरलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ।