काठमाडौं, भदौ १२ । नेकपा (एमाले) ले रसुवासहित भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै सातबुँदे कार्ययोजना अघि सारेको छ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि एमालेको केन्द्रीय टोलीको नेतृत्व गर्दै खटिनुभएका महासचिवले विपद्को यस घडीमा बेपत्ता नागरिकको खोजी तथा उद्धारदेखि विस्थापितको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनर्निर्माणसम्मका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ।
एमालेले तत्कालका लागि बेपत्ता नागरिकको खोजी तथा उद्धार, घाइतेको उद्धार र उपचार, मृतकको शव खोजी तथा पहिचान र घरबारविहीन नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएको छ। विस्थापित नागरिकका लागि तत्काल अस्थायी सेल्टर, खानपान तथा आधारभूत आवश्यकताको प्रबन्ध गर्नुपर्ने उसको प्राथमिकता छ।
त्यसैगरी, बाढीबाट अवरुद्ध भएका सडक तथा अन्य यातायात सञ्जाललाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने एमालेको निष्कर्ष छ। त्यसका लागि लेदो तथा पहिरो हटाउने र आवश्यक स्थानमा बेलिब्रिज जडान गर्नुपर्नेमा जोड दिइएको छ। विशेषगरी रसुवा, धादिङ र नुवाकोटको त्रिशूलीपारिका क्षेत्रमा पुग्ने प्रमुख सडकमार्गलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउनुपर्ने बताइएको छ।
बाढीका कारण प्रभावित भएको विद्युत्, सञ्चार तथा खानेपानी सेवा तत्काल पुनः सञ्चालन गर्नुपर्नेमा पनि एमालेले जोड दिएको छ। डुबानमा परेका बस्तीको सरसफाइ तथा प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।
दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणका लागि भने विस्थापित नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित बस्ती विकास गर्नुपर्ने एमालेको प्रस्ताव छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को प्रभाव अध्ययन गरी जोखिमको नक्साङ्कन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
त्यस्तै, आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने तथा सीमापारिबाट आउने बाढीसम्बन्धी सूचनाको समयमै आदानप्रदान गर्न भरपर्दो अन्तरदेशीय संयन्त्र निर्माण गर्नुपर्ने एमालेको सुझाव छ।
एमालेले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकीकृत खोजी, उद्धार तथा राहत वितरण प्रणाली विकास गर्नुपर्ने र त्यसको अनुगमनका लागि सर्वदलीय संयन्त्र निर्माण गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ।
एमालेका अनुसार संकटको यस घडीमा राजनीतिक दलहरूबीच साझा दृष्टिकोण र ठोस कार्ययोजना निर्माण हुन सकेमा उद्धार, राहत तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सकिनेछ।
यसैबीच, एमालेको केन्द्रीय टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाका विषयमा स्थानीयस्तरबाट सुझावसमेत सङ्कलन गरेको छ। स्थानीय आवश्यकता र मागका आधारमा एमालेले स्वयंसेवक टोली परिचालन गर्ने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्