काठमाडौं, भदौ १२ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार फिल्डमै परिचालित भएको छ। विपद्को घडीमा कार्यालयबाट निर्देशन मात्रै दिनेभन्दा प्रभावित नागरिककै बीचमा पुगेर अवस्था बुझ्ने र आवश्यक निर्णय गर्ने शैली अपनाउँदै मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको प्रदेश सरकार राहत तथा उद्धारमा सक्रिय भएको हो।
मुख्यमन्त्री थापामगर स्वयं प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अवलोकन तथा नागरिकसँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ। उहाँसहित प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सम्बन्धित कर्मचारीहरू प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था र नागरिकका तत्कालीन आवश्यकताबारे जानकारी लिइरहनु भएकाे छ ।
बाढीको सूचना प्राप्त भएलगत्तै प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक बसेर उद्धार, राहत, स्वास्थ्य उपचार, खाना, अस्थायी आवास तथा खानेपानीलाई प्राथमिकतामा राखी तत्कालीन कार्ययोजना बनाइएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयाे । रसुवा, नुवाकोट तथा धादिङका प्रभावित क्षेत्रमा प्रदेश सरकारको संयन्त्र परिचालन गरी राहत तथा व्यवस्थापनको काम अघि बढाइएको उहाँले बताउनुभयाे । प्रभावित नागरिकका लागि त्रिपाल, टेन्ट, खाद्यान्न तथा गैरखाद्य सामग्रीलगायत आवश्यक सामग्री तत्काल परिचालन गरिएको छ।
घर पूर्णरूपमा क्षति भएका वा जोखिमका कारण तत्काल घर फर्कन नसक्ने नागरिकका लागि सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था मिलाइएको मुख्यमन्त्री थापाले बताउनुभएको छ। विद्यालय, सभा–हल, पार्टी प्यालेस तथा अन्य सुरक्षित स्थानलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्ने व्यवस्था अघि बढाइएको छ।
विस्थापित नागरिकका लागि खाना, स्वच्छ खानेपानी, सरसफाइ, स्वास्थ्य तथा सुरक्षालाई एकीकृत रूपमा व्यवस्थापन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयाे। खानेपानीका स्रोत प्रभावित भएका स्थानमा वैकल्पिक स्रोतबाट पानी उपलब्ध गराउने तयारीसमेत गरिएको छ।
बाढी प्रभावित नागरिकको उपचारका लागि धादिङ अस्पताल, त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलगायत स्वास्थ्य संस्थालाई परिचालन गरिएको छ। आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीसहित थप स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गर्न तयारी अवस्थामा राखिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयाे ।
उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग प्रत्यक्ष समन्वय भइरहेको छ। खोज तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, राहत सामग्री ढुवानी तथा प्रभावित क्षेत्रमा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयाे ।
प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा जनप्रतिनिधिबीच निरन्तर समन्वय कायम गरी फिल्डबाटै वास्तविक अवस्था र नागरिकका आवश्यकता संकलन गर्ने काम भइरहेको मुख्यमन्त्री थापाले बताउनुयभाे । ‘सरकारको निर्णय कागजको विवरणबाट मात्र होइन, नागरिकको वास्तविक पीडाबाट निर्देशित हुनुपर्छ’ भन्ने मान्यताका साथ प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरेर निर्णय र कार्यान्वयनको प्रक्रिया अघि बढाइएको उहाँकाे भनाइ छ ।
मुख्यमन्त्री थापाले विपद्को घडीमा सरकार कार्यालयमा बसेर निर्णय गर्ने निकाय मात्र नभई पीडित नागरिकको दुःखमा साथ दिने र संकटमा काँध थाप्ने अभिभावक भएको बताउनुभएको छ। बाढीबाट प्रभावित नागरिकका लागि हस्तान्तरण गरिएका टेन्ट, त्रिपाल तथा गैरखाद्य सामग्री राहतका वस्तु मात्र नभई संकटमा सरकार नागरिकसँगै छ भन्ने भरोसा र आशाको सन्देशसमेत भएको उहाँको भनाइ छ।
बागमती प्रदेश सरकारले तत्कालीन उद्धार र राहतमा मात्र आफ्नो भूमिका सीमित नराखी सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणको प्रारम्भिक तयारीसमेत थालेको छ। बाढीबाट घर, सडक, पुल, खानेपानी, स्वास्थ्य संस्था, सार्वजनिक संरचना, कृषि तथा जीविकोपार्जनमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्राथमिकताका आधारमा पुनःस्थापना तथा पुनर्निर्माणको योजना अघि बढाइने मुख्यमन्त्री थापाले बताउनुभयाे ।
उहाँका अनुसार अबको प्राथमिकता सम्पर्कविहीन तथा जोखिममा रहेका नागरिकको खोजी तथा उद्धारलाई निरन्तरता दिनु, राहत सामग्रीको अभाव हुन नदिनु, कुनै पनि नागरिकलाई खुला आकाशमुनि बस्न नदिनु, स्वास्थ्य जोखिम नियन्त्रण गर्नु तथा अवरुद्ध सडक र अत्यावश्यक पूर्वाधार सञ्चालनमा ल्याउनु हो।
मुख्यमन्त्री थापाले विपद्को घडीमा सरकार कार्यालयमा बसेर निर्णय गर्ने निकाय मात्र नभई पीडित नागरिकको दुःखमा साथ दिने र संकटमा काँध थाप्ने अभिभावक भएको बताउनुभएको छ। बाढीबाट प्रभावित नागरिकका लागि हस्तान्तरण गरिएका टेन्ट, त्रिपाल तथा गैरखाद्य सामग्री राहतका वस्तु मात्र नभई संकटमा सरकार नागरिकसँगै छ भन्ने भरोसा र आशाको सन्देशसमेत भएको उहाँको भनाइ छ।
‘विपद् ठूलो हुन सक्छ, तर नागरिकप्रतिको हाम्रो जिम्मेवारी र मानवीय संवेदना त्यसभन्दा ठूलो हुनुपर्छ’ भन्दै मुख्यमन्त्री थापाले प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्नुभएको छ।
उहाँले उद्धार, राहत तथा पुनःस्थापनामा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै तत्कालको पीडा सम्बोधनदेखि सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणसम्म प्रदेश सरकार नागरिकसँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्