जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार १२:३५

भोटेकोशीमा फेरि लेदोसहितकाे बाढी, चीनमा ड्याम फुटेको सूचनापछि उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं, भदौ १२ । रसुवाको भोटेकोशी क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनको तिब्बतमा पुनः ड्याम फुटेको सूचना प्राप्त भएपछि भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा थप बाढीको जोखिम बढेको हो।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा जोखिम क्षेत्रमा रहेका सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

प्राधिकरणले थप बाढी आउन सक्ने जोखिम रहेकाले जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। विशेषगरी यसअघि बाढीबाट प्रभावित तथा नदी किनारका क्षेत्रमा रहेका नागरिकलाई थप सावधानी अपनाउन भनिएको छ।

यसैबीच, चीनको तिब्बतमा पुनः ड्याम फुटेको सूचना प्राप्त भएको भन्दै नेपाल प्रहरीले समेत सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको हो।

चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको सीमाना नजिकै छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल नजिकै ठूलो अस्थायी ताल बनेको जानकारी दिएको थियो। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी भरिएर बाहिर बग्न थालेको अनुमान गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

तीन दिनभित्र तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने र त्यसपछि ताल फुट्ने उच्च जोखिम रहेको चेतावनी दिइएको थियो। सोही जोखिमका कारण चीनतर्फ समेत उद्धार कार्य प्रभावित भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोबाट आएको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल फुटेर उद्धार टोली परिचालित क्षेत्रमा पानी तथा लेदो बग्न थालेपछि उद्धार कार्य स्थगित गरिएको हो।

यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। पछिल्लो समय फेरि पानीको बहाव बढ्न थालेपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।

सम्भावित थप बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले अनावश्यक रूपमा नदीतर्फ नजान, सुरक्षित स्थानमा रहन तथा आधिकारिक निकायबाट जारी हुने सूचनालाई प्राथमिकताका साथ पालना गर्नुपर्ने देखिएको छ।